विजय लघुवित्तको लाभांश प्रस्ताव भएको १६ दिनपछि मात्र सार्वजनिक जानकारीमा

0
Shares

विजय लघुवित्तले सेयरमूल्यमा प्रभाव पार्ने लाभांश प्रस्ताव सूचना १६ दिनपछि मात्र सार्वजनिक जानकारीमा ल्याएको छ ।

बिहीबार नेप्सेमा उपलब्ध गराएको पत्रमा लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको उल्लेख छ । तर कम्पनीले माघ २६ गते बिहीबार मात्र उक्त जानकारी नेप्से मार्फत दिएको हो ।

नेप्सेले सेयरमूल्यमा प्रभाव पार्ने लगायतका संवेदनशील प्रकृतिका निर्णय भएको भोलिपल्ट नै सार्वजनिक जानकारीमा ल्याउनुपर्ने कानुनी व्यवस्था गरेपनि कम्पनीले सो व्यवस्था अबलम्बन गरेको छैन । यसरी नियम पालना नगर्ने कम्पनीको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टिकरण सोध्ने गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा गरिएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने हुन्छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।