नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्य प्रसाद (सरोज) सिटौलाले पछिल्लो अवस्थामा बैंक फाइदामा र लगानीकर्ता घाटामा गएको बताएका छन् । उद्योगी तथा व्यवसायीको छाता संगठनले आइतबार संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सबैको पेशा व्यवसाय बामे सरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा व्यवसायी परेको उनको भनाइ थियो । यस्तै साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले भूकम्प, कोरोना महामारी लगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना तथा मझौला व्यवसायी परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उल्लेख गरे ।

सो अवसरमा व्यवसायी नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताएका छन् । उनले मुलुकको अर्थतन्त्र साना उद्योगी तथा व्यवसायीले जोगाएको जनाउँदै साना उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए । साना तथा मझौला व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैँक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उनको भनाइ थियो ।
ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौँका अध्यक्ष अच्युतम कटुवाललगायतले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण कयौँ उद्योग बन्द हुने अवस्थामा पुगेको जनाउँदै त्यस्ता उद्योगलाई बचाउनका लागि सरकारले विशेष नीति अगाडि सार्नुपर्ने बताएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया