चौधरी ग्रुपको होटल ‘भिभान्ता काठमाडौं’ को आम्दानी १५१ प्रतिशतले बढ्यो

0
Shares

चौधरी ग्रुपको लगानी रहेको चार तारे होटल ‘भिभान्ता काठमाडौँ’ को सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ ।

सन् २०२२ मा कोभिड संक्रमण कम हुँदै गएपछि भौतिक रुपमा कम्पनीहरुले बैठक सञ्चालन गरिरहेका छन् भने पर्यटकहरुको आगमन पनि बढेको छ । जसकारण होटल भिभान्ता काठमाडौँको आम्दानी सन् २०२१ को तुलनामा १५१.७५ प्रतिशतले बढेको हो ।

सन् २०२१ मा ९ करोड १२ लाख सञ्चालन आम्दानी गरेको होटलको सञ्चालन आम्दानी सन् २०२२ मा बढेर २२ करोड ९६ लाख हुन पुगेको छ । होटलको आम्दानीमा वृद्धि भएसँगै अन्य वित्तीय सूचांकमा पनि सुधार देखिएको छ ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा सन् २०२२मा कम्पनीले आर्जन गरेको कुल सञ्चालन आम्दानीको ३१.६ प्रतिशत रहेको छ । जुन सन् २०२१मा ८.७ प्रतिशतले ऋणात्मक थियो । यस्तै होटलको आम्दानीमा सुधार भएसँगै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा समेत सुधार आएको छ । सन् २०२२मा होटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.८ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा ऋणात्मक रहेको थियो ।

भिभान्ता होटलको सञ्चालन आर एन्ड आर होटल एन्ड रिसोर्टले गरिरहेको छ । आर एन्ड आरले भिभान्ता होटल सञ्चालनका लागि भारतीय होटल कम्पनीसँग १८ वर्षको सञ्चालन सम्झौता गरेको छ । भिभान्ता होटल नेपालको चौधरी ग्रुप र भारतको एनई ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । कम्पनीमा चौधरी ग्रूपको ७५ प्रतिशत र एनई ग्रुपको २५ प्रतिशत सेयर हिस्सा रहेको छ ।

आर एन्ड आर होटल एन्ड रिसोर्ट एक स्पेशल पर्पोज भेइकल हो जसले होटल भिभान्ता काठमाडौँ निर्माण गर्ने देखि सञ्चालन सम्मको जिम्मेवारी लिएको छ । विभिन्न चरणमा फैलिएको कोरोना भाइरसका कारण सन् २०२१मा होटलको आम्दानीमा आएको भारी गिरावट आएको थियो ।

आम्दानीमा आएको गिरावट र वित्तीय सूचकहरुको कमजोर प्रर्दशनका कारण होटल भिभान्ता काठमाडौँलाई ८१ करोड ६६ लाख ८० हजार बराबरको कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डी रेटिङ गरेको थियो ।

तथापि सन् २०२२मा होटलको आम्दानीमा देखिएको वृद्धि र होटलका वित्तीय सूचकहरुमा देखिएको सकारात्मक प्रभावका कारण इक्रा नेपालले यस अघि गरेको रेटिङ बढ्वा गरेको छ ।

इक्रा नेपालले ७९ करोड ६६ लाख ८० हजार बराबरको दीर्घकालीन कर्जाका लागि यस अघिको डी रेटिङ बढ्वा गरी बी रेटिङ गरी कर्जा पुनपुष्टि गरेको छ भने २ करोड बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले डी रेटिङ बढुवा गरी ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।