अधिकांश बैंकहरुको आधार दर दोहोरो अंकमा, कति घट्ला कर्जाको ब्याज ?

0
Shares

चालु आर्थिक वर्षको त्रेस्रो त्रैमास अर्थात चैतमसान्तसम्मको अवधिमा अधिकांश वाणिज्य बैंकहरुको आधारदर दोहोरो अंकमा रहेको छ । गत पुसको तुलनामा धेरैजसो बैंकहरुको आधारदर घटेपनि गत आवको चैतको तुलनामा भने सबै बैंकको आधारदर बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आवको चैतमसान्तको विवरणमा बैंकहरुको आधारदर सामान्य घटेको छ, यसले तत्काल कर्जाको ब्याजदर घट्ने सम्भावना न्यून देखिन्छ । पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.२८ प्रतिशत विन्दुले मात्र घटेको छ । चैतमसान्तसम्म बैंकहरुको औसत आधार दर १०.५२ प्रतिशत छ । गत पुसमा बैंकहरुको औसत ब्याजदर १०.८० प्रतिशत थियो भने गत आवको चैतमा ८.९८ प्रतिशत मात्र थियो। बैंकहरुको औसत ब्याजदर गत पुसको तुलनामा घटेपनि गत आवको यसै अवधिको तुलनामा धेरै हो ।

गत आर्थिक वर्षदेखि नै बैंकिङ्ग प्रणालीमा तरलता अभाव देखिएपछि बैंकहरुले निक्षेपमा दिने ब्याजदर बढाउन थालेका थिए । ६ प्रतिशतको हाराहारी रहेको मुद्दती निक्षेपको ब्याजदर बढेर १२ प्रतिशतभन्दा माथिसम्म पुगेको थियो। ब्याजदर बढ्दा बैंकहरुको निक्षेपमा लागत बढेको छ। लागत बढेपछि बैंकहरुको आधार दर समेत बढेको हो।

वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका वाणिज्य बैंकहरुले आधारदर निकालेपछि कर्जाको ब्याजदर थाहा हुने बताएका थिए । निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले पुरानो ऋणको ब्याजदर समेत घट्दै जाने बैंकरहरुको भनाई छ ।

आधार दर बढ्दा त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजदरमा देखिन्छ। आधार दर बढेपछि कर्जाको ब्याजदर पनि महँगो हुन्छ । सामान्यतया बैंकहरुले आधार दरमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। चैत्र मसान्तसम्ममा पनि बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा नै रहेको छ । वैशाखदेखि निक्षेपमा घटाइएको ब्याजदरले आगामी दिनमा आधारदर घटेमा मात्र बैंकहरुले कर्जाको ब्याजदर घटाउने अवस्था रहन्छ ।

हाल २१ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन । जसमध्ये ५ वटाको बैंकको मात्रै आधारदर १० प्रतिशत भन्दा कम छ । अन्य सबै बैंकको आधार दर १० प्रतिशतभन्दा धेरै रहेको छ। १६ बैंकको आधारदर नै १० प्रतिशत भन्दा माथि छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.४७ प्रतिशत रहेको छ । दोस्रो कम आधारदर हुने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत छ । यस्तै नेपाल बैंकको ९.९२ प्रतिशत, एभरेष्ट बैंकको ९.९४ र नबिल बैंकको ९.९९ प्रतिशत छ । यी ५ बैंकको आधारदर १० प्रतिशत भन्दा कम रहेको छ । यी पाँच बैंकहरुमध्ये गत पुसको तुलनामा नेपाल बैंक बाहेक सबै बैंकको चैतमा आधारदर घटेको छ । तर, गत आवको चैतको तुलनामा भन्दा सबैको आधारदर बढेको छ ।

गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकको आधारदर बढेको छ । अन्य सबै बैंकहरुको गत पुसको तुलनामा घटेछ । सञ्चालनमा रहेका २१ वटै वाणिज्य बैंकहरुको आधारदर गत आवको चैतको तुलनामा भने बढेको छ ।

चैतमसान्तसम्मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.१६ प्रतिशत, कृषि विकासको १०.२७, सिद्धार्थको १०.४५, एनआइसी एशियाको १०.४८, एनएमबिको १०.६१, सानिमाको १०.६३, ग्लोबल आइएमईको १०.६९ तथा कुमारी बैंकको आधारदर १०.९३ प्रतिशत रहेको छ ।

यसैगरी, सनराइज बैंकको आधार दर सबैभन्दा धेरै ११.३४ प्रतिशत रहेको छ भने माछापुच्छ्रे बैंकको आधार दर ११.३१ प्रतिशत, सिटिजन्सको ११.१४ प्रतिशत, लक्ष्मी बैंकको ११.०९ प्रतिशत, नेपाल एसबिआईको ११.०८, प्रभुको ११.०८, हिमालयनको ११.०६ र प्राइम कमर्सियल बैंकको ११.०१ प्रतिशत आधारदर रहेको छ । ८ वाणिज्य बैंकको आधारदर ११ प्रतिशत भन्दा माथि छ ।

बैंकहरुले यही आधार दरमा प्रिमियम थप गरी कर्जा लगानी गर्ने भएकोले आधार दर बढी हुने बैंकहरुको कर्जाको ब्याजदर समेत तुलनात्मक रुपमा बढी हुनेगर्छ । अहिले बैंकहरुले ५ प्रतिशतभन्दा बढीसम्म प्रिमियम थप गरी कर्जा लगानी गरिरहेका छन्। जसले गर्दा अहिले सबै बैंकको कर्जाको ब्याजदर दोहोरो अंकमा नै छ ।

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो पर्ला ?

चालु आवको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार अहिले १६ वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा रहेको छ । यसअवधिमा वाणिज्य बैंकहरुको औसत ब्याजदर नै साढे १० प्रतिशत बढी छ । जबकी २०७८ चैत मसान्तसम्म यस्तो आधार दर ८.९८ं प्रतिशत मात्र थियो । एक वर्षको अवधिमा आधार दर नै २.५४ प्रतिशत बिन्दुले बढेको छ । पुसको तुलनामा भने औसत ब्याजदर ०.२८ बिन्दुले मात्र घटेको छ ।

सामान्यतः सबैभन्दा कम आधार दर भएको बैंकबाट कम ब्याजदरमा ऋण पाउने सम्भावना उच्च रहन्छ । ऋण लिनेका लागि ब्याजदर निर्धारणको सबैभन्दा महत्वपूर्ण पक्ष पनि आधार दर हो । ऋण लिँदा कुन बैंकले कति ब्याजदर लिन्छन् भन्ने कुरा आधार दरले नै निर्धारण गर्छ । बैंकहरुले आधार दर बढेअनुसार नै ऋणको ब्याज पनि बेलाबेलामा बढाउँछन् । आधार दरमा भएको परिवर्तनअनुसार बैंकहरुले ३–३ महिनामा ऋणीका लागि ब्याजदर पुनरावलोन गर्न सक्ने व्यवस्था छ।

आधार दरमा निश्चित प्रिमियम जोडेर बैंकहरुले ऋणीका लागि ब्याजदर तोकिदिन्छन् । आधार दर बढे पनि प्रिमियम दर भने सुरुमा जति तोकिएको छ, त्यति नै स्थिर राख्नुपर्छ । प्रिमियम दर कति तोक्ने भन्ने सम्बन्धमा बैंकहरुलाई निर्णय गर्न स्वतन्त्रता रहन्छ । यद्यपि केही क्षेत्रमा दिइने कर्जाको ब्याजदर भने आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

व्यापारिक तथा अन्य प्रकृतिका कर्जामा भने बैंकहरुले आधार दरमा ६–७ प्रतिशतसम्म प्रिमियम दर जोड्ने गरेका छन् । प्रिमियम दर कति जोड्ने भन्ने सम्बन्धमा भने बैंकसँग ऋणीको सम्बन्ध, धितोको मूल्य, व्यवसायिक प्रकृति लगायतमा निर्भर रहन्छ । तसर्थ ऋण लिनेका लागि कम आधार दर भएको बैंक उपयुक्त मानिन्छ । आधार दरभन्दा कममा बैंकहरूले ऋण दिन पाउँदैनन् ।

त्रैमासिक रूपमा आधारदरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्ने भएकाले निक्षेपको ब्याजदर घटे पनि यसको असर तत्काल देखिनेछैन । माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति हुन्छ सोही अनुपातमा बैशाखमा कर्जाको ब्याजदर पनि घट्ने बैंकरहरूको भनाई छ ।

हाल बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणलाई आधार मान्दा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन सक्ने देखिन्छ । जसको आधारदर सबैभन्दा कम ८.४७ प्रतिशत छ । तुलनात्मक रुपमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, एभरेष्ट र नबिल बैंकमा अन्यमा भन्दा कम ब्याजदरमा कर्जा पाउने अवस्था छ ।

सनराइज बैंकमा कर्जा लिँदा सबैभन्दा उच्च ब्याजदर पर्ने देखिन्छ । जसको आधारदर सबैभन्दा बढी ११.३४ प्रतिशत छ । माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी एसबिआई, प्रभु, हिमालयन तथा प्राइम कमर्शियल बैंकमा तुलनात्म रुपमा अन्यको भन्दा कर्जाको बढी ब्याज तिर्नुपर्ने अवस्था देखिन्छ ।

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । बैंकहरुले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउने निर्णय गरेका हुन् । ब्याजदर घटाउने निर्र्णले वैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । ब्याज घटेसँगै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका थिए ।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम हुने भएको छ । बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झार्ने निर्णय गरेको छ । यसअघि निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।