जेपी मोर्गन बैंकले खरिद गर्यो टाट पल्टीएको फस्ट रिपब्लिक बैंक

0
Shares

जेपी मोर्गन बैंकले फस्ट रिपब्लिक बैंक खरिद गरेको छ । धरासायी भएको फस्ट रिपब्लिक बैंक खरिदका लागि अमेरिकी निक्षेप बीमा संस्थान–फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले बोलकबोल आह्वान गरेको थियो ।

बोलकबोलमा ठूला अमेरिकी बैंक सहभागी भएका थिए । जेपीमोर्गन चेस बैंक बाहेक सिटिजन्स फाइनान्सीयल ग्रुप, पीएनसी फाइनान्सीयल सर्भिस लगायतका बैंकहरुले फस्ट रिपब्लिक बैंक खरिद गर्नका लागि बोलकबोल आह्वानमा सहभागी भएका थिए ।

सन् २०२३को मार्च ८ यता अमेरिकाका ३ ठूला बैंक टाट पल्टिएका छन् । सिकिलन भ्याली र सिग्नेचर बैंक क्रमश मार्च १० र मार्च १२मा टाट पल्टिएका थिए । सिलिकन भ्याली र सिल्भर गेट बैंक पछि अमेरिकाको फस्ट रिपब्लिक बैंक टाट पल्टिएको हो । जसकारण अमेरिकाको क्षेत्रीय बैंकिङ प्रणालीमा असर पुगेको छ।

बैंक टाट पल्टिनुको कारण बैंक–रन, तरलता अभाव व्यवस्थापनमा समस्या रहेको छ । केही अर्थशास्त्रीहरुले अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउनुलाई कारण मान्दै आएका छन् । तथापि केन्द्रीय बैंकले अमेरिकी बैंकिङ क्षेत्रको अवस्था राम्रो रहेको बताउँदै मार्च २४मा ०.२५ प्रतिशतले पुन ब्याजदर बढाएको थियो । बैंकले ब्याजदर बढाएको १० दिन नहुँदै अमेरिकाको अर्को ठूलो बैंक–फस्ट रिपब्लिक बैंक टाट पल्टिएको हो ।

सन् १९८५ मा स्थापना भएको फस्ट रिपब्लिक बैंक सन् २०२३मा टाट पल्टिएको छ । मार्च १० मा क्यालिफोर्निया स्थित सिलिकन भ्याली बैंक टाट पल्टिएको घोषणा भएसँगै फस्ट रिपब्लिक बैंकका ठूला निक्षेपकर्ताले धमाधम निक्षेप निकालेका थिए।

सन् २०२३को पछिल्लो ३ महिनामा मात्रै फस्ट रिपब्लिक बैंकबाट १०० अर्ब डलर बाहिरिएको थियो । जसकारण बैंकमा तरलता अभावको समस्या देखिएको थियो ।

तत्कालीन अवस्थामा फस्ट रिपब्लिक बैंकलाई टाट पल्टिन नदिन जेपी मोर्गन बैंक, सिटिजन्स बैंक लगायतका बैंकहरुले ३० अर्ब डलर बैंकमा निक्षेप गरेका थिए । सो रकमले समेत बैंकको तरलता अवस्थामा सुधार ल्याउन नसकेपछि अन्ततः बैंक टाट पल्टिएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।