तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान


काठमाडौँ । आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे ।

“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उनले भने, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए ।

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० रुपैयाँको थोक मूल्यको आधारमा ४० करोड ५० लाख रुपैयाँ, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँ, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० रुपैयाँका दरले दुई करोड ४० लाख रुपैयाँ र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० रुपैयाँका दरले दुई करोड ४० लाख पर्ने बताइएको छ ।

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।