गोल्छा ग्रुपको हिम इलेक्ट्रोनिक्सको वार्षिक कारोबार ८ अर्ब नाघ्यो

0
Shares

नेपाल उद्योग तथा वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको हिम इलेक्ट्रोनिक्सको आम्दानी सन् २०२२ मा वृद्धि भएको छ।

सन् २०२१ मा ६ अर्ब ८८ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको हो । सन् २०२२ मा कम्पनीको आम्दानी १८.६३ प्रतिशतले बढेको हो।

कम्पनीको आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांक पनि बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, कर, भाडा र ब्याज सहितको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ५.२ प्रतिशत रहेको थियो भने सन् २०२२मा उक्त आम्दानी ६.३ प्रतिशत पुगेको हो ।

सन् १९८८ मा स्थापना भएको हिम इलेक्ट्रोनिक्स प्रालि सामसुङ मोबाइल तथा सामसुङ होम एप्लाइनसेसको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीका देशभर ४ वटा वेयरहाउस छन् भने साना ठूला गरी ९ हजार डिलर कम्पनी रहेका छन् । साथै कम्पनीका देशभर १३ वटा रिटेल छन् भने ४० सर्भिस सेन्टर रहेका छन् ।

सामसुङ ब्रान्डका साथै कम्पनीले बजाज, इन्डोएशियन, ओस्राम र टाइमेक्स ब्रान्डका विभिन्न विद्युतीय तथा घरेलु एप्लाइनसेसको बिक्री वितरण गर्दै आएको छ ।यस्तै कम्पनीको आफ्नै एसेम्बलिङ युनिट पनि रहेको छ । जहाँ हिमस्टार ब्रान्डका विद्युतीय सामाग्री, घरेलु एप्लाइनसेस, सोलार प्यानल र इन्भर्टरको उत्पादन हुन्छ।

गोल्छा ग्रुपले सञ्चालन गरिरहेको हिम इलेक्ट्रोनिक्स, गोल्छा संस्थान् कै एक एकाइ हो । कम्पनीमा शेखर गोल्छाको ७५ प्रतिशत र अन्य गोल्छा परिवारका सदस्यहरुको २५ प्रतिशत लगानी रहेको छ ।

कम्पनीले ४ अर्ब ६१ करोड ६० लाख बराबरको अल्पकलाीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ४ अर्ब ६१ करोड ६० लाख बराबरको कर्जाका लागि ए४ प्लस रेटिङ दिएको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको अल्पकालीन कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।