नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषदको निर्णय

0
Shares

सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सेचञ्जको लाइसेन्स रोक्ने निर्णय गरेको हो ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न सरकारले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । नयाँ लाइसेन्स वितरण प्रक्रियामा व्यापक चलखेल र आर्थिक लेनदेन भएको भन्ने चर्को आवाज संसद र सञ्चार माध्यमहरुमा उठेपछि सरकार लाइसेन्स रोक्ने निर्णयमा पुगेको हो ।

नयाँ स्टकको लाइसेन्स प्रक्रियामा ‘बिचौलियाको सेटिङमा’ नीतिगत भ्रष्टाचार भएको पाएइपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइसेन्स वितरण प्रक्रिया रोकेका हुन् । निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै चौतर्फि विरोध भएको थियो।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को कार्यालयबाट लिखित निर्देशन निर्देशन आएपछि तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरिएको हो। लगानीकर्ताको हितलाई ध्यानमा राख्दै थप अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने भएकाले हाललाई प्रकृया रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

नयाँ लाइसेन्स दिनका लागि नेपाल धितोपत्र बोर्डले एक साताभन्दा अगाडि कानुन मन्त्रालयका सह–सचिव फणिन्द गौतमको संयोजकत्वमा मूल्याङ्कन समितिले गठन गरेको थियो । समितिले प्रतिवेदन नबुझाउँदै सरकारले उक्त प्रकृया तत्कालका लागि रोकेको हो।

अदालतले नयाँ स्टक एक्सचेन्जबारे परेका रिट खारेज गरेसंगै बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि पुनः आवेदन लिएर प्रक्रिया अगाडी बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लागि निजी क्षेत्रका हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

धितोपत्र बोर्डले भने लाइसेन्स प्रक्रिया रोक्ने सम्बन्धी निर्णय मौखिक जानकारी मात्र आएको जनाएको छ । उक्त विषयमा अर्थ मन्त्रालयले शुक्रबार लिखित पत्र पठाउने तयारी गरेको छ ।

उता नयाँ स्टकको लाइसेन्सका विषयमा दश दिन मात्रै समय दिएर आवेदन दिने प्रक्रिया गलत भएको भन्दै उच्च अदालत पाटनमा रिट परेको छ । अदालतले जेठ १ गते दुबै पक्षलाई छलफलका लागि बोलाउंदै पेसी तोकेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।