शिवम् सिमेन्टको खुद नाफा आधा घट्यो, इपीएस ९ रुपैयाँ ६९ पैसामा खुम्चियाे

0
Shares

शिवम् सिमेन्टको खुद नाफा अघिल्लो चैतको तुलनामा आधाले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेर ३१ करोड ९९ लाख १७ हजार रुपैयाँमा संकुचित बनेको हो ।

गत आवको चैतसम्म सिमेन्टसले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानी तथा अन्य आम्दानी घट्न गई उत्पादन लागत बढेका कारण नाफामा असर गरेको हो । यस्तै वित्तीय खर्च, ह्रासकट्टी र अमोटाइजेसनमा भएको वृद्धिले पनि कम्पनीको मुनाफामा असर पुगेको छ । तरलता अभाव, विश्व बजारमा कोईला, डिजेल लगायतका सामानहरुको अत्याधिक मूल्य वृद्धिले गर्दा कम्पनीमा ठूलो असर गरेको कम्पनीको भनाई छ ।

नेप्सेको उत्पादनमूलक समुहमा सूचीकृत कम्पनीको खुद नाफामा उच्च गिरावट आएसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ६९ पैसामा झरेको छ । चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ भने सेयर प्रिमियम ९५ करोड ६२ लाख रुपैयाँ मौज्दात छ । यस्तै प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ४१.७८ गुणा छ ।

चैत मसान्त सम्ममा शिवम् सिमेन्टको बिक्री आय २४.७५ प्रतिशतले घटेपछि समग्र वित्तीय अवस्था नै कमजोर बनेको हो । आव २०७९÷८० को तेस्रो त्रैमाससम्म शिवमले ५ अर्ब ४५ करोड ८१ लाख ६ हजार रुपैयाँ मात्र बिक्री आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७ अर्ब २५ करोड ३३ लाख ९३ हजार रुपैयाँ बिक्री गरेको थियो । शिवम् सिमेन्ट्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७९ करोड ५३ लाख रुपैयाँले घटेको हो ।

कम्पनीले समीक्षा अवधिमा ३४ करोड १ लाख ८८ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५२ हजार ३५ हजार थियो । कम्पनीको खर्च पनि १५.९२ प्रतिशतले घटेर ५ अर्ब ४७ करोड ८५ लाख रहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले गर्दा कम्पनीको वित्तीय खर्चमा २ करोड ७० लाख बढेर ७ करोड २४ लाख ६३ हजार पुगेको छ । यस्तै ह्रासकट्टी र अमोटाइजेसन १ करोड ४ लाख ९० हजारले बढेर ३६ करोड ८६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सहायक कम्पनीहरुमा गरिएको लगानी १६.२७ प्रतिशतले बढेर ४ अर्ब २६ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।