माछापुच्छ्रे मेटल एन्ड मेसिनरीले ६ महिनामा गर्यो ४६ करोडको कारोबार

0
Shares

हाइड्रोपावर परियोजनाहरुमा काम गर्दै आएको माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वक्र्स प्रालिले आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ४६ करोड सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा कुल ८० करोड परिष्कृत सञ्चालन आम्दानी गरेको थियो । गत आवमा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा अघिको नाफा कुल सञ्चालन आम्दानीको १५ प्रतिशत रहेको थियो । तर चालु आवको ६ महिनामा उक्त नाफा ८.४ प्रतिशतमा कायम भएको छ ।

सन् १९७८ मा स्थापना भएको माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वक्र्स प्रालिले मुख्यतया हाइड्रोपावर परियोजनामा फ्याब्रिकेसनको काम गर्दै आएको छ । यसका अलवा कम्पनीले स्टीलको पुल निर्माण, टावर, पोल, भवन तथा उद्योगहरुको निर्माण गर्दै आएको छ ।

सन् २०२३ को अप्रिल महिनासम्ममा कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ बराबरको परियोजना हात पारिसकेको छ । कम्पनीमा विष्णुप्रसाद पाण्डे, उनकी श्रीमती र दुई छोराहरुको लगानी रहेको छ । पाण्डे कम्पनीका अध्यक्ष छन् ।

कम्पनीले १ अर्ब ६१ करोड ९२ लाख ६० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १२ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र १ अर्ब ४९ करोड ४० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गराएको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.३ गुणा रहेको छ । कम्पनीले २ अर्ब बराबरको परियोजना हात लिएता पनि परियोजनाको सुरुवात नहुँदा कम्पनीको आम्दानी घटेको छ । कम्पनीको आम्दानीमा आएको कमीका कारण अन्य वित्तीय सूचांक पनि कमजोर देखिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।