नेपालको सकारात्मक बृहत आर्थिक अवस्था विश्व समुदायलाई सम्प्रेषण गर्न आवश्यक छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न सकेका छौं या छैनौ भन्ने आफ्नो पहिलो चासो रहेको बताएका छन् ।  लगानी बोर्ड नेपालको आयोजनामा ‘नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्ताे बताएका हुन् ।

नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको भएपनि सोबारे विश्व समुदायलाई प्रकाश पार्न नसकेको उनले औल्याए ।  नेपालले ऋण र कुल ग्राहस्थ उत्पादन (जिडिपी) अनुपात दिगो रहने गरी काम गर्दै आएको भन्दै मन्त्री डा. महतले भने , ‘नेपालले इतिहासमा न त ऋण चुक्ता गर्न असफल भएको छ, न त कुनै अन्तर्राष्ट्रिय कम्पनीलाई नाफा फिर्ता गर्ने सुविधाबाट वञ्चित गरेको छ । हाम्रो ऋण तिर्ने क्षमता इतिहासदेखि नै अत्यन्तै सकारात्मक छ । हामीले यसलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा उजागर गर्न आवश्यक छ ।’

नेपालसँग भएका स्रोत साधनको अधिकतम उपयोग गर्नु हाम्रो चुनौती रहेको उल्लेख गर्दै उनले अहिले हामीले यो शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न नसकेका बताए । मन्त्री डा. महतले भने, ‘हामीसँग ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदारहरू छन्, यसले कुनै न कुनै रूपमा रेमिट्यान्सको रूपमा हाम्रो अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि पर्याप्त रूपमा प्रयोग गर्न सकेका छैनौं ।’

अर्थमन्त्री महतले दीगो विकासको लक्ष्य हाँसिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिहरूलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका छन् । उनले देशमा लगानीयोग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको बताए ।

नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘हाम्रो मासिक रेमिटेन्स प्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १० दशमलव ९ अर्ब डलर रहेकोमा उक्त रकमबाट ९ महिना भन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात गर्न पर्याप्त छ ।’ उनले भने, ‘हामी डब्लुटीओ का सदस्य हौं । हामीले तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएका छौं । हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ ।’

सहज स्थितिमा बाह्य ऋण दायित्वले नेपाललाई कुनै तनावको स्थिति थिएन भन्दै मन्त्री डा. महतले भने, ‘नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसांख्यकीय लाभांश भएको युवा जनसङ्ख्या र कोभिडपछि हामीले देखेको डिजिटल परिवर्तन हो । नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसांख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ । हामीसँग अझै पनि पर्याप्त युवा जनसङ्ख्या हुनेछ जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ । वर्तमान युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्ने उनको भनाई छ । मन्त्री महतले नवीकरणीय ऊर्जा सहित दिगो वित्तको लागि नेपालको अपार सम्भावना विश्वको लागि उदाहरण भएको बताए ।

देशको पूर्वाधार आवश्यकताहरू पूरा गर्न र दिगो र निरन्तर आर्थिक वृद्धि लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय कोष कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल सुझावहरूको नेपालले स्वागत गर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।