नमस्ते पे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

0
Shares

नेपाल टेलिकमका ग्राहकहरुले ‘नमस्ते पे’ को क्यूआर कोड मार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने भएका छन् । नेपाल डिजिटल पेमेन्ट्सले सञ्चालन गर्दै आएको नमस्ते पेको क्यूआर कोड नेपाल टेलिकमको बबरमहल र सुन्धारामा अवस्थित कार्यालयको सबै काउन्टरमा उपलब्ध हुने छ ।

सोमबार एक कार्यक्रम गरी नेपाल टेलिकमको सुन्धारा र बबरमहलमा रहेको कार्यालयमा नमस्ते पेको क्यूआर मार्फत कारोबारको सुरुवात भएको प्रवक्ता शोभन अधिकारीले बताए । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरी कारोबारको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बोल्दै निर्देशक प्रधानले नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको बताइन् । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्यूआर प्रयोग गरेर बिल तिर्न सक्नेछन् । जसकारण नगद झिक्न बैंकमा जानुपर्ने झन्झट कम हुने र बिल भुक्तानीलाई सजिलो र छिटो हुने छ ।

यस्तै नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले नमस्ते पे क्यूआर को प्रयोगले नगदरहित समाज सिर्जना गर्ने सरकारको प्रयासमा उल्लेख्य भूमिका खेल्ने बताए । आधुनिक प्रविधिक प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यो सहकार्यको भूमिका महत्वपूर्ण रहने उनको धारणा रहेको छ ।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा उपलब्ध यो सेवा आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गर्ने टेलिकमका प्रवक्ता अधिकारीले बताए ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी मार्फत ‘नमस्ते पे’ सञ्चालन हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।