अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत

0
Shares

कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनमा यस्तो तथ्याङ्क देखिएको हो ।

अध्ययनले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको देखाएको छ । तर समीक्षा अवधिमा न्यून मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेका छन् । निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएका छन् । महासंघले नेपालमै पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

अध्ययनले दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक रहेको औंल्याउँदै त्यसलाई आगामी बजेटलाई सुधारको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएको छ । अर्थतन्त्रमा दुई तिहाईभन्दा धेरै योगदान गर्ने निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने क्रम यसपटक देखिएको पनि छ । उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक रहँदा ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको छ । राजश्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भैरहेको प्रतिवेदनमा औंल्याएको छ ।

अध्ययन प्रतिवेदन अनुसार चालु आवको तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु चिन्ताजनक रहेको चित्रण गर्दै निजी क्षेत्रले विगत एक वर्षदेखि अपेक्षाकृत काम गर्न नसकेको जनाएको छ । निजी क्षेत्रमैत्री नीतिगत र व्यवहारिक बिषयहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता प्रतिवेदन मार्फत जोड दिइएको छ ।

विसं २०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको छ । उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ । अर्थतन्त्रको यो तिव्र विस्तारको मुख्य आधार निजी क्षेत्र थियो । जुन रप्mतारमा सुरुका दिनमा विस्तार भयो, सोही अनुसार पछिल्लो समय हुन सकेको छैन । विशेषगरि विदेशी लगानी अपेक्षाकृत आउन सकेको छैन । स्वदेशी लगानी पनि निरुत्साहित छ । यस्तो अवस्थामा अब दिगो संरचनात्मक सुधार कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा जनाइएको छ । जसले वृद्धिका बाधक पहिल्याएर निजी क्षेत्रको नेतृत्वमा सामाजिक न्याय सहितको दिगो आर्थिक विकास सम्भव बनाउनेछ ।

निजी क्षेत्रले दिएको योगदान र यसलाई अर्थतन्त्रको आधार बनाउन के–कस्ता उपाय अवलम्बन गर्नु आवश्यक छ त्यसको आधार आवश्यक छ । त्यही आवश्यकता महसुस गरि महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरी त्यसका लागि निजी क्षेत्रको विस्तारमा मुख्य भूमिका निर्वाह गर्दै आइरहेको विकास साझेदार अन्तर्राष्ट्रिय वित्त निगमलाई महासंघले सहकार्यका लागि आग्रह गर्यो । जसलाई निगमले सहर्ष स्वीकार गर्यो र अध्ययनले केहि महत्वपूर्ण नतिजा निकालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।