भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत १ अर्ब १९ करोडभन्दा बढीको उपचार

0
Shares

चितवनको भरतपुरमा रहेको सरकारी अस्पतालले विगत पाँच वर्षमा १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमा मार्फत उपचार सेवा दिएको छ । जसबाट ७ लाख १ हजार १४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा १ अर्ब १९ करोड ३७ लाख २६ हजार ३५८ रुपैयाँ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी ५ करोड रुपैयाँ हाराहारी छ ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ३९ करोड १० लाख ७४ हजार ४७१ रुपैयाँ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा ३० करोड ७९ लाख ७४ हजार ५१२ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ७२ लाख ५२ हजार १८१ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो रकम २३ करोड ८८ लाख ४ हजार ७५० रुपैयाँ थियो । आव २०७५/७६ मा १४ करोड ५७ लाख २८ हजार २२२ रुपैयाँ थियो भने पहिलो वर्ष २०७४÷७५ मा १ करोड २८ लाख ९२ हजार २२० रुपैयाँ थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक ७ लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६०० जना आउने गर्दछन् । एकै दिन १ हजार ४०० सम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या १०० सम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार ४१९ जनाले १ लाख ७६ हजार ६०० सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा ७ हजार ३०४ हुँदा रिफर भएर आउनेको सङ्ख्या ४ हजार ४०३ रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षमा ३९ करोड १० लाख ७४ हजार ४७१ बीमाबाट आम्दानी हुँदा नगदबाट १७ करोड ९८ लाख रुपैयाँ मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उनले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउँछन् । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए । उनले भने, “हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।” अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौं ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिए ।

स्वास्थ्य बीमामा पाँचजना परिवारले ३ हजार ३०० तिरेर एक वर्षभर १ लाख रुपैयाँसम्मको सेवा लिँदै आएको छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।