सरकारले ढुंगा–गिट्टी निर्यातको सम्भावना अध्ययन गर्ने

0
Shares

सरकारले देशभित्र रहेको ढुंगा–गिट्टी तथा बालुवाको निर्यातको सम्भावना अध्ययन गर्ने भएको छ । चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुंगा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको हो ।

शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वातावरण प्रतिकुल नहुने गरी ढुंगा–गिट्टी तथा बालुवाको संकलन, उत्खनन् र वितरणका लागि कानुनी व्यवस्था गर्ने बताएका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट मार्फत यस्तै घोषणा गर्दा विवाद भएको थियो । तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेर तीव्र आलोचना गरेको गठबन्धनले नै हाल सत्तारुढ भएपछि उस्तै नीति ल्याएको हो । सो समयमा सर्वोच्च अदालतले यस्तो वस्तु निर्यात गर्ने नीति कार्यान्वयन गर्न रोक लगाएको थियो ।

यस्तै सरकारले रासायनिक मल समयमै उपलब्ध गराउने पनि राष्ट्रपतिले बताए । त्यस्तै उनले रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्न बहुवर्षीय योजना तयार गर्ने लक्ष्य लिएको पनि बताए । नदी उकास जमिनलाई भूमिहीन विपन्नलाई लक्षित गरी स्थानीय तहको समन्वयमा जग्गा विउ तथा कृषि प्रसार सेवा उपलब्ध गराउने पनि पौडेलले बताए । त्यस्ता जग्गामा तरकारी तथा फलफूल उत्पादन गर्ने सरकारको नीति रहेको उनको भनाई छ ।

संघीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक पालिका एक उत्पादन क्षेत्र नीति मार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउन जोड दिइने नीति लिएको जानकारी दिए । उपयोगमा नआएका बाँझो जमिनमा कृषि खेती प्रवद्र्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गरिने छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दीलाई प्रोत्साहित गरिने छ,’ उनले भने । प्रत्येक पालिकामा एक शीत भण्डार बनाउने योजना अघि सारेको छ । एक वडा एक विशेष उत्पादनमा जोड दिने राष्ट्रपति पौडेलले बताए ।‘

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।