लक्ष्मी र सनराइज बैंकले गरे मर्जरको अन्तिम सम्झौता, शाह प्रमुख कार्यकारी बन्ने


लक्ष्मी बैंक र सन्राइज बैंकले एक आपसमा गाभिनका लागि अन्तिम सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने बताइएको छ ।

मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सन्राइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक समितिको अध्यक्ष चयन गर्नेछ ।

मर्जरको अन्तिम सम्झौतालाई दुवै बैंकको साधारण सभाले पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पछि नयाँ बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

मर्जर सम्बन्धि सबै प्रकृया पुरा गरी आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य लिइएको दुवै बैंकले जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।