धितोपत्र बोर्डले दियो ७ नयाँ ब्रोकरलाई इजाजतपत्र

0
Shares

नेपाल धितोपत्र बोर्डले आशयपत्र (एलओआई) दिएको ४३ मध्ये ७ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजतपत्र दिएको छ । बोर्डको सोमबार बसेको बैठकले सात नयाँ ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

एलओआई पाएका ४३ मध्ये आठ वटाले पूर्वाधार तयार गरी निवेदन दिएकोमा पहिलो चरणमा ७ वटाले लाइसेन्स पाएका हुन् । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो । नयाँ लाइसेन्सका लागि बोर्डले आवेदन दिएका ४६ मध्ये तीन चरणमा गरी कुल ४३ वटालाई एलओआइ दिएको थियो । निवेदन दिएका मध्ये तीन कम्पनीको भने प्रकृया पूरा नभएपछि रद्द भएको थियो ।

बोर्डबाट हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडर प्रोपर्टी विजार्ड लिमिटेडले इजाजत पाएका हुन् ।

ब्रोकर कम्पनीहरुलाई नयाँ इजाजत बिक्रीका लागि नै धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०७९ को पाँचौँ संशोधन गरेको थियो । उक्त संशोधनपछि बोर्डले २०७९ असोज २ गते आवेदन खुला गर्दै ३० दिनभित्र निवेदन दिन आह्वान गरेको थियो । बोर्डले अघि बढाएको प्रक्रियाको विरुद्धमा सर्वोच्चमा रिट परेपछि अल्पकालीन अन्तरिम आदेश मार्फत उक्त सबै प्रक्रिया स्थगित भएको थियो । तर २०७९ चैत्र २६ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि बोर्डले लाइसेन्स प्रक्रिया पुनः अघि बढाएको थियो । जसअनुसार नयाँ इजाजत पाउनेमा १२ वटा ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीहरु र १२ वटा अन्य संघ संस्थाहरुलाई धितोपत्र दलाल तथा व्यापारीको रुपमा प्रवेश गराउने प्रकृया अनुरुप एलओआई दिएको थियो ।

नयाँ इजाजत बिक्रीका लागि नियमावली २०७९ को पाँचौँ संशोधन मार्फत समय सीमा नै तोकिएको छ । जसमा नियमावलीको नियम ३ मा अनुरुप परेको निवेदन रित पूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावली बमोजिम पूरा गर्नुपर्ने सर्त पूरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमति पत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै नियमावली अनुसार बोर्डले अनुमति पत्र दिने निर्णय गरेमा १५ दिनभित्र र नदिने निर्णय गरेको भए सात दिन भित्र निवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था राखिएको छ ।

निवदेन माग गरेको ४६ मध्ये नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्न, मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटी, शनि सेक्युरिटीले पूर्ण ब्रोकरको काम गर्न र बाँकीले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि निवेदन दिएका थिए ।

नियमावली मार्फत बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड, पूर्णकालीन ब्रोकरका लागि ६० करोड र स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।