अर्थ समितिको पत्र पाए लगत्तै धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक, लाइसेन्स बेच्न किन हतार ?

0
Shares

व्यवस्थापिका संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स थप्ने सन्दर्भमा भए गरेका काम कारबाहीको विस्तृत विवरण माग गरे लगत्तै धितोपत्र बोर्डले नयाँ निर्णय गरेको छ । बोर्डले समितिको पत्र पाएपछि पनि धितोपत्र दलाल कम्पनीको लाइसेन्स दिने निर्णय गरेको हो ।

समितिमा शनिबार भएको छलफलले धितोपत्र बोर्डसंग नयाँ कम्पनीलाई लाइसेन्स दिने विषयमा विवरण माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा समिति सचिवालयले आइतबार पत्र तयार गरी सोमबार धितोपत्र बोर्डमा पठाएकोे थियो । तर, धितोपत्र बोर्डले सोमबार समितिको पत्र आएको जानकारी पाउनसाथ बोर्ड अध्यक्षले सञ्चालक समितिको बैठक बोलाई सात नयाँ कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने निर्णय गरेका छन् ।

बोर्डले सोमबार ब्रोकर कम्पनी सञ्चालन अनुमती दिने निर्णय गरेका ७ कम्पनी मध्ये हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सन सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज लिमिटेड र क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले गत बैशाख १८ गते पुर्वाधार निर्माणको आशय पत्र पाएका थिए । त्यसैगरी मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र र प्रोपर्टी विजार्ड लिमिटेडले बैशाख २० गते पुर्वाधार निर्माणको आशय पत्र पाएका थिए । बोर्डले ती कम्पनीलाई २० देखि २२ दिनको अवधिमा लाइसेन्स दिने निर्णय सोमबार गरेको हो ।

धितोपत्र बोर्डले दियो ७ नयाँ ब्रोकरलाई इजाजतपत्र

स्टक एक्सचेन्ज थप गर्ने प्रक्रियालाई मन्त्रिपरिषदबाट नै निर्णय गराई स्थगित गराइएपछि धितोपत्र बोर्ड नेतृत्वको मनोबल कमजोर भएको देखिन्छ । स्टक एक्सचेन्जको जस्तै धितोपत्र ब्रोकर कम्पनीको सन्दर्भमा पनि अवरोध सृजना हुन सक्ने अनुमानमा बोर्डले अर्थ समिति र उच्च अदालत पाटनलाई वेवास्ता गर्दै हतारमा लाइसेन्स दिने निर्णय गरेको हो ।

धितोपत्र बोर्ड नेतृत्वमा कुनै स्वार्थ नभएको भए किन सोमबार अर्थ समितिको पत्र बुझेलगत्तै सञ्चालक समितिको बैठक राखी नियामकीय मापदण्ड समेत पुरा नगरेका कम्पनीलाई लाइसेन्स दिइयो ? कुनै पनि हालतका धितोपत्र दलाल कम्पनीको लाइसेन्स नदिइ नहुने के बाध्यता आईपर्यो ? यसभन्दा अघि नै अर्थ समितिले अध्ययन गरेर तोकिएका पुर्वाधार निर्माणपछि बजारको आवश्यकता अनुसार ब्रोकर थप गर्न सकिने भन्दै गर्नुपर्ने कामहरुको सूची सहितको निर्देशन नै दिएको थियो । तर, बोर्डले समितिले दिएको निर्देशनलाई ध्यान नदिइ सिमित व्यक्ति र समुहको प्रभावमा परेर लाइसेन्स प्रक्रिया अघि बढाएको स्पष्ट हुन्छ ।

सोमबार लाइसेन्स थप गर्ने प्रक्रियाको विवरण ५ दिन भित्र उपलब्ध गराउन भन्दै पत्राचार गरेको समिति सचिव रेखा उपाध्याय खनालले बताइन । २०७७ सालमा अर्थ समितिले दिएको अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि निर्देशन दिएको थियो । सोही प्रतिवेदन अनुसार के कति काम भए र अहिले लाइसेन्स वितरणको काम कारबाही के भैरहेको छ भन्ने विवरण माग गरेको खनालले जानकारी दिइन ।

“धितोपत्र बोर्डबाट आउने कागजात अनुसार मात्र आगामी दिनमा कस्तो कदम हुन्छ भनेर भन्न सकिन्छ,” खनालले भनिन्, “२०७७ को प्रतिवेदनले पनि लाइसेन्स दिन मिल्ने अवस्था छैन ।” समितिले अहिले माग गरेको विवरण भनेको विगतको निर्देशनको पालन भए-नभएको देखि हालको लाइसेन्स प्रक्रियासम्मको रहेको उनको भनाई छ ।

ब्रोकर लाइसेन्सको बिक्रीबाट मात्रै धितोपत्र बोर्डलाई १२ करोड आम्दानी 

धितोपत्र बोर्डले दिएको जवाफपछि मात्र थपिएका ब्रोकरको लाइसेन्स किन कसरी र के कती कारणबाट दिइएको हो भनेर थप प्रक्रिया अघि बढाइने उनको भनाई छ । “बोर्डले केही जवाफ नदिदै किन लाइसेन्स दिएको भनेर भन्ने मिल्ने,”उनले भनिन्,“बोर्डले कागजात पठाएपछि समितिलाई जानकारी गराई माननीयहरुसँग छलफल गरे कसरी अघि बढ्ने भन्ने निर्णय हुन्छ ।”

धितोपत्र बोर्डको नियत सही थियो भने समितिको पत्र पाउनसाथ सञ्चालक समितिको बैठक राखेर लाइसेन्स दिने निर्णय नगर्ने समिति सचिवालयका एक अधिकारीको भनाइ छ । “हामी पनि अचम्म लागेको छ,” ती अधिकारीले भने,“समितिले सक्दो छिटो निर्णय गरेर बोर्डलाइ पत्राचार गरेको छ, बोर्डले झनै हतार हतार गरेर लाइसेन्स नै दिने निर्णय गर्छ ।” समितिको पत्रको जवाफ सम्म धितोपत्र बोर्डले नपर्खनु भनेको बोर्ड नेतृत्वले प्रभावमा परेर लाइसेन्स दिन लागेको भन्ने स्पष्ट हुने ती अधिकारीको भनाई छ ।

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स थप गर्ने प्रक्रिया सुरु गर्दा नै अर्थ समितिमा उजुरी परेको थियो। समितिका सदस्यहरुको अवधि सकिएकाले नयाँ निर्वाचन पर्खनु परेको थियो । नयाँ निर्वाचित भएर आएका सदस्यहरु सहभागि अर्थ समितिको पहिलो बैठक मै ब्रोकर थप्ने सन्दर्भमा छलफल गर्ने र विवरण माग गर्ने भनेर समितिका तत्तकालिन सभापति कृष्ण प्रसाद दाहालले तोक लगाएका थिए । त्यसका साथै समिति सचिवालयले पत्राचार गर्दै काम कारबाहीको विवरण पनि माग गरेको थियो । तर, समिति सदस्यहरु नभएको समयमा बोर्डले उक्त पत्रलाई चासोका साथ नहेरी काम अघि बढाएको हो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।