विस्तृत मुद्राप्रदायको लक्षित वृद्धिदर हासिल नहुने भएपछि राष्ट्र बैंकले बढायो मनि सप्लाई

0
Shares

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा राखेको विस्तृत मुद्राप्रदायको लक्षित वृद्धि हासिल हुन नसकेपछि बैशाखमा  १२ अर्ब बढीले मनि सप्लाई वृद्धि गरेको छ ।

केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत कायम गर्ने लक्ष्य चालु आवको मौद्रिक नीति मार्फत राखेको थियो । यद्यपी चालु आवको ९ महिना अवधिमा निक्षेप अपेक्षित रुपमा बढ्न नसकेपछि राष्ट्र बैंकले करेन्सी इन सर्कुलेसन वृद्धि मार्फत सो लक्ष्य हासिल गर्न लागेको हो ।

पछिल्लो एक महीनामा नै चलनचल्तीको रहेको कागजी नोटको प्रयोग १२ अर्ब १० करोड १० करोड ९७ लाख २३ हजार रुपैयाँले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा नै विस्तृत मुद्राप्रदाय १.९८ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तसम्म ६ खर्ब ११ अर्ब ७८ करोड ८० लाख ८६ हजार रुपैयाँ बराबरको नोट प्रयोगमा रहेकोमा बैशाख मसान्तसम्म आइपुग्दा १२ अर्ब १० करोडले बढेर ६ खर्ब २३ अर्ब ८९ करोड ७८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दश महीना अवधिमा चलनतल्तीको रहेको कागजी नोटको प्रयोग ११ अर्बले ८७ करोड रुपैयाँले बढेको छ । चालु आवको सुरुवात (विसं २०७९ असार मसान्त) मा चलनचल्तीमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै विसं २०७८ असार मसान्तसम्ममा ६ खर्ब ५ अर्ब ६२ करोड १२ लाख १२ हजार ७४५ रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेकोमा २२ महिना अवधिमा बजारमा रहेको नोटको प्रयोग १८ अर्ब २७ करोड रुपैयाँले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी तथा सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मौद्रिक नीतिमा राखिएको मनि सप्लाइको ग्रोथ १२ प्रतिशतले गर्ने लक्ष्य राखिएको भएपनि मुद्दती निक्षेपमा अपेक्षा गरिए अनुरुप वृद्धि हासिल नहुने भएपछि राष्ट्र बैंकले पनि मनि सप्लाई बढाउनका लागि अन्ततगत्व करेन्सी इन सर्कुलेसन बढाउँछ । सोही अनुसार केन्द्रीय बैंकले बैशाखमा मनि सप्लाई बढाएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले हरेक महीना नै मनि सप्लाई कहाँनिर छ भनेर सार्वजनिक रुपमा सूचना प्रकाशित गर्ने गरेको बताउँदै सह प्रवक्ता पोखरेलले भने, “यसअनुसार राष्ट्र बैंकले लिएको वार्षिक लक्ष्य पूरा गर्नुपर्ने छ । त्यस हिसाबले विश्लेषण गर्ने, कसरी जानुपर्छ भनेर रणनीति तयार गर्ने कामहरुमा हामी अभ्यस्त रहन्छौं । ब्याजदर बढेका कारण साधारण बचतबाट मुद्दती निक्षेपमा रकम सिफ्ट हुँदा मुद्दती निक्षेप वृद्धि भएको भएपनि साधारण बचतको निक्षेप घटेको छ । टाइम डिपोजिट कुन हदले बढ्ला भन्ने अहिले निश्चित जस्तै छ । त्यसले गर्दा वार्षिक मनि सप्लाईको लक्ष्य प्राप्तीका लागि करेन्सी इन सर्कुलसन पनि बढाउनुपर्‍याे ।”

पोखरेलले मुद्दती निक्षेपमा बढेपनि अपेक्षा गरिए अनुरुप वृद्धि हासिल नहुने भएपछि राष्ट्र बैंकले पनि मनि सप्लाई बढाउनका लागि अन्ततगत्व करेन्सी इन सर्कुलेसन बढाउने गरेको जनाए । वार्षिक लक्ष्य बढी भएको र वास्तविक मनि सप्लाई कम छ रहँदा राष्ट्र बैंकले करेन्सी इन सर्कुलेसन बढाउने गरेको उनले बताए । यस्तै मुद्रा स्फिति नियन्त्रण गर्न, अथवा वार्षिक मुद्राप्रदायको वृद्धिभन्दा वास्तविक वृद्धिदर माथि छ भने त्यसलाई घटाएर कन्क्ट्राक्सन गर्नुपर्ने हुँदा केन्द्रीय बैंकले मनि सप्लाई घटाउने गरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोट (करेन्सी इन सर्कुलेसन) को रुपमा गणना गर्ने गरिन्छ । मनि सप्लाईमा करेन्सी इन सर्कुलेसन, डिमान्ड डिपोजिट र टाइम डिपोजिट जस्ता कुराहरु अटाउने गर्दछन् ।

मौद्रिक नीति मार्फत निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर बैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको २.५७ प्रतिशतले मात्र कर्जा विस्तार भएको भएको छ । यस्तै यस अवधिमा निक्षेप संकलनको वृद्धि ६.५८ प्रतिशत रहेको छ । २०८० बैशाखसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ४१ ख्र्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । २०७९ साउनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन र कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।