मर्जर पछि ‘लक्ष्मी सनराइज बैंक’ मा यस्तो हुनेछ सञ्चालक समिति, वित्तीय सूचक कस्तो ?


असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य अनुरुप मर्जर प्रकृयालाई तिब्रता दिएका लक्ष्मी र सनराइज बैंकले अध्यक्ष बाहेकका विषयहमा सहमति जुटाएका छन् । सोही अनुसार दुवै बैंकले मर्जरको अन्तिम सम्झौता समेत गरेर साधारण सभाको तयारी थालेका छन् ।

आगामी असार ३ गतेका लागि सनराइज बैंकले साधारण सभा आह्वान गरिसकेको छ भने लक्ष्मी बैंकले सोही दिन विशेष साधारण सभा बोलाउने तयारी गरेको छ । साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराई अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने तयारीमा रहेका दुवै बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने योजना बनाएका छन् ।

यस्तो हुनेछ सञ्चालक समितिः

एकीकृत कारोबारसँगै लक्ष्मी बैंकका तर्फबाट ४ जना र सनराइज बैंकको तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति गठन हुने सहमति जुटेको छ । जसमा लक्ष्मी बैंकबाट हालका अध्यक्ष एवं नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा र स्वाती रुङ्गटा तथा स्तन्त्र सञ्चालक विद्या बस्नेतले प्रतिनिधित्व गर्नेछन् । विद्या बस्नेत स्वतन्त्र सञ्चालककै रुपमा रहने छिन् ।

सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालकहरु इन्जिनियर बच्चराज तातेड र मालचन्द दुगडले लक्ष्मी सनराइज बैंकमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्नेछन् । अहिलेको सहमति अनुसार एकीकृत कारोबार सुरु भएपछि बस्ने सञ्चालक समितिको पहिलो बैठकले लक्ष्मी सनराइज बैंकको नयाँ अध्यक्ष चयन गर्नेछ ।

यो ७ सदस्यीय सञ्चालक समितिको कार्यकाल चालु आर्थिक वर्षको साधारण सभा नहुन्जेल मात्र कायम हुनेछ भने उक्त साधारण सभाले ५ सदस्यीय नयाँ सञ्चालक समिति चयन गर्नेछ । यस अर्थमा मर्जरका क्रममा गठन हुने नयाँ सञ्चालक समितिको आयू पुस मसान्तमा साधारण सभा हुँदा बढीमा ६ महिनाको मात्र हुनेछ ।

हाल लक्ष्मी बैंकका सञ्चालक दिनेश पौडेल र सनराइज बैंकका सञ्चालकहरु शैलेन्द्र गुरागाई, शारदा शर्मा र दिपक नेपाल भने लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिमा अटाउने छैनन् ।

प्रमुख कार्यकारी अधिकृत:

हाल लक्ष्मी बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अजय बिक्रम शाहले मर्जर पछि बन्ने लक्ष्मी सनराइज बैंकको नेतृत्व सम्हाल्ने सहमति भएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा भने अन्य पदमा बैंकमा नै रहन्छन् वा बाहिरिन्छन् भन्ने निणर्य उनकै हातमा हुनेछ ।

वित्तीय सूचकहरुः

दुवै बैंकले डिडिएका आधारमा १ बराबर १ को अनुपातमा मर्जरमा जाने सहमति गरिसकेका छन् । यस आधारमा मर्जर पश्चात बन्ने लक्ष्मी सनराइज बैंक लिमिटेडको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार ८०९ रुपैयाँ पुग्नेछ । हाल लक्ष्मीको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०९ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको चैत मसान्तमा लक्ष्मीको जगेडा ५ अर्ब ५० करोड तथा सनराइजको ७ अर्ब ६० करोड रुपैयाँ थियो । दुवै बैंकको सञ्चित जगेडा १४ अर्ब ११ करोड रुपैयाँ हुन आउँछ ।

लक्ष्मीको १ खर्ब ५० अर्ब १३ करोड तथा सनराइजको १ खर्ब ३१ अर्ब ६७ करोड गरी कुल निक्षेप २ खर्ब ८१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कर्जा परिचालनमा लक्ष्मीको १ खर्ब ३१ अर्ब ४६ करोड तथा सनराइजको १ खर्ब १९ अर्ब ४३ करोड गरी कुल २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ हुन्छ ।

गत चैतसम्को तथ्यांकका आधारमा दुई बैंकको एकीकृत खुद नाफा २ अर्ब ४३ करोड ६० लाख तथा वितरणयोग्य मुनाफाको रकम १ अर्ब ८ करोड २० लाख रुपैयाँ छ ।
लक्ष्मी र सनराइजको २०७९ चैत मसान्तको वित्तीय विबरणको तुलनात्मक विबरण तथा एकीकृत सूचकहरु यस्तो देखिन्छ ।

मर्जर पछि बन्ने बैंकको कुल शाखा संख्या २७२ पुग्नेछ भने बैंकमा कार्यरत कुल कर्मचारीको संख्या ३ हजार १७० पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।