आन्तरिक ऋणको उच्चतम सीमा बढाउने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका केबिन म्याकरर्थीबीच सहमति नजुट्दा अमेरिकी अर्थतन्त्र टाट पल्टिने खतरा बढ्दै गएको छ ।
अमेरिकी वाणिज्य विभाग प्रमुख जेनेट एलेनले अमेरिकाको राज्यकोषमा भएको रकमले जुन १ तारिखसम्मका लागि मात्रै खर्च धान्न सक्ने जानकारी दिँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आन्तरिक ऋणको सिलिङ बढाउन पत्राचार गरेकी थिइन्। एलेनले राष्ट्रपति कार्यालयमा दुई पटक पत्राचार गरी कंग्रेसलाई सहमतिमा ल्याउन र आन्तरिक ऋणको सिलिङ बढाउन आग्रह गरेता पनि जो बाइडेन र रिपब्लिकन पार्टी प्रमुखबीच सहमति जुट्न सकेको छैन ।
एलेनले तोकेको समयावधि सक्किन एक हप्ता मात्रै बाँकी रहेको छ । सुरुवाती दिनमा कंग्रेसले आन्तरिक ऋणको सिलिङ बढाउनेमा आशावादी रहेका लगानीकर्ता अहिले त्रसित देखिएका छन् ।
मे २४ बुधबारका दिन अमेरिकाको एस एन्ड पी ५०० सूचांक ०.७३ प्रतिशतले ओरालो लागेको छ । यस्तै डाउ जोन्स इन्डष्ट्रियल एभरेज सूचांक ०.७७ प्रतिशतले घटेको छ । यस्तै नास्डाक कम्पोजिट सूचांक ०.६१ प्रतिशत र रुसेल २००० सूचांक १.१६ प्रतिशतले ओरालो लागेको हो ।
विश्वव्यापी अर्थतन्त्र संकट उन्मुख भइरहको परिवेशमा शीर्ष अर्थतन्त्र अमेरिकामा अर्को मन्दी हुने सम्भावना समेत बढेको छ । आन्तरिक ऋणको सीमा बढाउने सम्बन्धमा सहमति नजुट्दा लगानीकर्ता मात्रै नभई सामान्य अमेरिकी नागरिक समेत चिन्तामा परेका छन् ।
हाल अमेरिकाको कुल आन्तरिक ऋणको अधिकतम सीमा ३१ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२३ को जनवरी महिनामा नै अमेरिकाले ऋणको उक्त सीमा छोएको थियो । बाइडेनले आन्तरिक ऋणको सीमा वृद्धि तथा सीमा हटाउनका लागि प्रस्ताव गरिरहेका छन् ।
तर उनको प्रस्ताव रिपब्लिकन पार्टीका नेताहरुले स्वीकार गरेका छैनन् । रिपब्लिकन पार्र्टीका नेताहरुले आन्तरिक ऋणको सीमा बढाउँदा राज्यले खर्च कटौती गर्नुपर्ने शर्त राखेका छन्।
बाइडेनले प्रतिपक्षीको उक्त शर्तले शिक्षा क्षेत्रमा, नागरिकहरुको सुरक्षामा खर्च भइरहेको अर्बौं रकम कटौती हुने धारणा राख्दै रिपब्लिकनको निन्दा गरिरहेका छन् । जसकारण दुुई पक्षबीच सहमति नजुट्दा अवस्था गम्भीर बन्दै गएको छ ।
दुई पक्षबीच सहमति नजुटेता पनि कंग्रेसमा रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने केबिन म्याकरथीले अमेरिका टाट पल्टिने अवस्था सिर्जना नहुने बताएका छन् ।
यसैबीच रेटिङ एजेन्सी मूडिजले अमेरिकी अर्थतन्त्रमा देखिएको अनिश्चिततालाई ध्यानमा राख्दै वाच वीथ नेगेटिभ इम्प्लीकेसनमा राखेको छ । हाल अमेरिकाको देशीय रेटिङ ट्रिपल ए रहेको छ । जुन सबैभन्दा राम्रो रेटिङ हो ।
तर आन्तरिक ऋणको सीमा बढाउने विषयमा अलमल कायम रहँदा मूडिजले अमेरिका डिफ्ल्ट घोषणा भएको अवस्थामा विश्वव्यापी रुपमा पर्ने नकरात्मक असरलाई ध्यानमा राखी नेगेटिभ वाचमा राखेको छ । जसकारण अमेरिकी लगानीकर्ता तथा व्यवसायीमा त्रास बढ्दै गएको हो ।
अमेरिकामा हालै भएको क्षेत्रीय बैंकिङ संकटले निम्त्याएको घाटाबाट भर्खरै बाहिर निस्किएका लगानीकर्ताहरु मूडिजको रेटिङले थप त्रसित बनेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया