सेयर बजारमा पहिरो

0
Shares

बजेट पछिको पहिलो कारोबार दिनमा नै नेप्सेमा पहिरो गएको छ । यसदिन आधा शतकभन्दा बढीले बजार घटेपछि राम्रो वित्तीय अवस्था रहेर लाभांश वितरण गर्ने तथा भविष्यमा उत्कृष्ठ नतिजा दिनसक्ने कम्पनीहरुको सेयरमा खरिद चाप बढ्दा कारोबार रकम करिब साढे २ अर्ब पुगेको छ ।

आइतबार १७.३८ अंकको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मंगलबार ५२.१६ अंकको गिरावट देखिएको छ । बजेट मार्फत सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा करयोग्य आयमा समावेश गरी कर तिरेर मात्र वितरण गर्नुपर्ने व्यवस्थाको असर मंगलबारको सेयर बजारमा देखिएको हो ।

प्रिमियम आम्दानीलाई लाभांशको रुपमा वितरण गर्नु भन्दा अघि आयमा देखाइ आयकर भूक्तान गरेपछि मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था आयकर ऐन २०५८ मा रहेको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा मर्जरको लाभबाट तिर्नुपर्ने व्यवस्था गरेको हो । यद्यपी तर सरकारले नयाँ निष्कासन (एफपीओ) तथा बिक्री नभएको हकप्रद सेयरलाई लिलामी गर्दा भएको प्रिमियम आम्दानी शीर्षकमा आयकर बापतको साँवा मंसिर मसान्तभित्र तिरेमा शुल्क र ब्याज मिनाहा गर्ने व्यवस्था आर्थिक विधेयक मार्फत गरेको छ ।

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले प्रिमियबाट प्राप्त आम्दानीलाई आयकर नतिरी सेयरधनीलाई लाभांशको रुपमा वितरण गरिसकेको अवस्था छ । आर्थिक विधेयक मार्फत गरिएको यस व्यवस्थाले नेपाल लाइफ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(साबिक नेपाल इन्भेष्टमेन्ट बैंक) शिखर इन्स्योरेन्स, एनएमबि बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (प्रिमियर इन्स्योरेन्स), नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायतले ठूलो रकम सरकारलाई आयकरको रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी आयकरमा गणना नगरी सरकारलाई मंसिर मसान्तभित्र कर भुक्तानी नगरेमा शुल्क तथा ब्याज र परिवाना समेत लाग्नेछ । यसले कतियि संस्थाले आगामी आर्थिक वर्षमा लाभांश समेत वितरण गर्न नसक्ने अवस्था सिर्जना गरेको छ ।सोही व्यवस्थाको असरले मंगलबार सेयर बजारमा पहिरो गएको हो ।

मंगलबार नेप्सेमा २७५ स्क्रिप्टका ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम कारोबार रकम २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४५ रुपैयाँमा खरिद बिक्री भएका छन् । अल्पकालीन बजार गिरावटमा खरिदकर्ता सक्रिय भएपछि बिक्री चाप घट्दा कारोबार रकम अघिल्लो कारोबारको दिनको तुलनामा २९ करोड ८० लाख रुपैयाँले घटेको छ ।

आज कारोबारमा आएका सबै उपसमुगत सूचक ऋणात्मक भएका छन् । जीवन बीमा सर्वाधिक ३.५० प्रतिशतले घटेको बजारमा अन्य ३.२८ र निर्जीवन बीमको सूचक ३.१४ प्रतिशतले घटेको छ । बैंकिङ्ग, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक, जलविद्युत, लगानी र ब्यापार इन्डेक्स पनि २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड २४ लाख ८१ हजार रुपैयाँ बराबरको ४ लाख ६१ हजार ५९७ कित्ता सेयर २३३५ वटा संङ्ख्यामा खरिद बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक सेयर १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावर ७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौं ठूलो कारोबार भएको नेपाल इन्फ्रास्टक्चर बैंकको ५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आजको बजारमा आत्मनिर्भर लघुवित्त र बिपीडब्लू लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै गरिमा डिबेञ्चर २०८८ को मूल्य ४.०४, जोशी हाइड्रोपावर ३.९४ प्रतिशत र मेगा म्युचुअल फन्डको इकाईमूल्य ३.३४ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२६ प्रतिशतले घटेर २९३ रुपैयाँ १० पैसामा झरेको छ । यस्तै सिटिजन्स म्युचुअल फन्डको इकाईमूल्य ९.१० प्रतिशत, सामुदायिक लघुवित्तको ८.७२ प्रतिशत, समयपत्री हाइड्रोपावर ७.२८ प्रतिशत र आदर्श लघुवित्तको सेयरमूल्य ७.२३ प्रतिशतले घटेको छ ।

मंगलबारको गिरावटसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २७ खर्ब ५७ अर्ब १६ करोड ९६ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार बजार पुँजीकरण २८ खर्ब ३३ अर्ब ५५ करोड २९ लाख रुपैयाँ थियो । अघिल्लो कारोबार दिनको तुलननामा मंगलबार मात्रै बजार पुँजीकरणमा ७६ अर्ब ३८ करोड ३३ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।