बैंकिङ प्रणालीमा निक्षेप थपिने र कर्जा प्रबाह रोकिने भएपछि अल्पकालिन ब्याजदर उच्च दरमा घट्न थालेको छ । बैंकहरुले भद्र सहमती गरेर असार महिनामा निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेको भएपछि अन्तर बैंक दर घटेको हो ।
पछिल्लो समयमा अन्तर बैंक दर मात्र नभई ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा पनि गिरावट आएको छ । त्यसका साथै कर्जाको माग नभएको र निक्षेप बढीरहेको हुनाले स्थायी तरलता सुविधाको उपयोग पनि गत जेठ १७ गते देखि शून्य छ ।
असार महिनाका लागि बैंंकहरुको निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने कर्जाको ब्याजदरमा सामान्य गिरावट आएको छ । बैंकहरुले बैंशाखमा निक्षेपको ब्याजदर घटाएको प्रभावले असारको कर्जाको ब्याजदरमा निकै न्यून भएपनि गिरावट देखिएको छ । हाल सम्मकै उच्च तहमा पुगेको कर्जाको ब्याजदर सामान्य भएपनि गत जेठ देखि घट्दै आएको छ ।
जेठ महिनाको १० गतेदखि २९ गतेसम्मको अवधिमा बैंकहरुको अन्तर बैंक दर १.२६ प्रतिशत विन्दुले घटेको छ । जेठको १० गते ७ प्रतिशत रहेको अन्तर बैंक दर २९ गतेसम्म आइपुग्दा ५.७४ प्रतिशतमा झरेको छ । जेठ २९ गते कायम भएको अन्तर बैंक दर २०७८ फागुन ६ गतेपछि दोस्रो पटक ५ प्रतिशतको लाइनमा आएको हो ।
जेठ २९ भन्दा अघि २०७९ माघ महिनामा ४ देखि ५ प्रतिशतको लाइनमा झरेको थियो । त्यसपछि पुनः बढेर ८.५ प्रतिशतसम्म पुगेको अन्तर बैंक दर जेठ अन्तिम देखि घट्न थालेको हो ।
त्यसैगरी डिस्काउन्ट रेटमा पनि करिब एक प्रतिशत विन्दुको गिरावट आएको छ । चालु आर्थिक वर्षमा १२ प्रतिशतसम्म पुगेको डिस्काउन्ट रेट हाल २८ दिनेको ७ र त्यो भन्दा धेरै अवधिको ८ प्रतिशतमा झरेको छ ।
अल्पकालिन रेटहरुमा आएको गिरावटले बैंकिङ प्रणालीको ब्याजदर अझै घट्ने स्पष्ट हुन्छ । ट्रेजरी बिल्सको डिस्काउन्ट रेट, अन्तर बैंक दरमा आएको गिरावटले आगामी दिनमा बैंकिङ प्रणालीको ब्याजदर थप घट्ने स्पष्ट हुन्छ ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंक दर पनि घटाएर ७.५ प्रतिशतमा झरेको छ । तर, नीतिगत दर भने ७ प्रतिशत नै कायम राखेको छ । कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले भद्र सहमती गरेर निक्षेपको ब्याजदर घटाएका थिए । त्यसले पनि आशातित रुपमा कर्जा विस्तार हुन सकेका छैन । गत बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रबाह भएको कर्जाको वृद्धिदर ३.१ प्रतिशत मात्र रहेको छ । यसले पनि कर्जाको माग नभएको स्पष्ट हुन्छ ।
आर्थिक वर्षको अन्तिम त्रैमास अर्थात बैंशाख, जेठ र असार महिनामा सरकारी खर्च बढ्ने गर्छ । त्यसले गर्दा पनि पछिल्लो समयमा बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ । त्यसका साथै रेमिट्यान्स आप्रबाहमा पनि सुधार आएपछि बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज भएको छ ।
बैंकहरुले दैनिक रुपमा तरलता व्यवस्थापनका लागि छोटो अवधिका लागि एक बैंकले अर्को बैंक बीच सापट लिने गर्छन । यसले पनि बैंकिङ तरलताको अवस्थालाई देखाउछ । अन्तर बैंक बढेको अवस्थामा तरलताको अवस्था कसिलो र अन्तर बैंक घट्दा तरलता सहज भएको स्पष्ट हुन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया