बैंक वित्तीय संस्थाको नाफा ४ प्रतिशतले घट्यो, जोखिम व्यवस्थाका लागि मात्रै साढे ५३ अर्ब

0
Shares

चालु आर्थिक वर्षको बैंशाखसम्म बैंक वित्तीय सस्थाको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षमा बढ्दो ब्याजदर तथा कर्जा असुलीमा समस्या भएपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको हो ।

चालु आर्थिक वर्षको १० महिनामा बैंक वित्तीय संस्थाले खुद नाफा ६२ अर्ब ६० करोड ७ लाख रुपैयाँ गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको १० महिनामा बैंक वित्तीय संस्थाले ६५ अर्ब ११ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा आएको सुस्तता तथा उच्च ब्याजदरका कारण बैंक वित्तीय संस्थाले कर्जा लगानी बढाउन पनि सकेका थिएनन् । त्यसले पनि बैंकहरुको आम्दानीमा असर गरेको छ । त्यसका साथै कोरोना अवधिका दिएको छुट तथा सहुलियत निरन्तरता नभएको र कर्जा असुलीमा समस्या भएपछि बैंकहरुको नाफा घट्ने तथा जोखिम व्यवस्था बापातको रकम उच्च बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैंशाखसम्म बैंक तथा वित्तीय संस्थाको प्रोभिजनिङ १३४.०६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको बैशाखसम्ममा २२ अर्ब ८९ करोड ६० लाख रुपैयाँ जोखिम व्यवस्था गरेकोमा चालु आवको बैशाखमा उक्त शीर्षकको रकम ५३ अर्ब ६१ करोड २० लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा भने बैंक वित्तीय संस्था खुद नाफ ९ अर्ब १४ करोड ७० लाख रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाले गत चैतमा ५३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेका थिए भने बैशाखमा त्यो रकम बढेर ६२ अर्ब ६० करोड ७० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको १० महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था वापतको रकम एक अर्ब २० करोड ७० लाख रुपैयाँले बढेको छ । चालु आवको चैत महिनासम्ममा ५२ अर्ब ४० करोड ६० लाख रुपैयाँ जोखिम व्यवस्था गरेका बैंक वित्तीय संस्थाले बैंशाखसम्ममा ५३ अर्ब ६१ करोड २० लाख रुपैयाँ उक्त शीर्षकमा छुट्याएका छन् ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा बैंक वित्तीय संस्थाले ५ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो अवधिमा बैंक वित्तीय संस्थाको ब्याज खर्च ३ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ गरेका छन् । गत आवको सोही अवधिको तुलनामा ब्याज आम्दानी एक खर्ब २८ अर्ब ७१ करोडले धेरै हो भने ब्याज खर्च ९४ अर्ब १५ करोडले धेरै हो ।

बैंक तथा वित्तीय संस्थाहरुको यो ब्याज आम्दानी र खर्च गत आवको सोही अवधिको तुलनामा धेरै हो । गत आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए भने २ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च गरेका थिए ।

चालु आर्थिक वर्षको बैंशाखसम्म वणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब १६ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यसैगरी सोही अवधिमा विकास बैंकले ४ अर्ब २९ करोड ७० लाख र फाइनान्स कम्पनीहरुले एक अर्ब १४ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।