कृषि विकास बैंकले साढे ३७ प्रतिशतले घटायो सेयर धितो कर्जाको प्रिमियम, कतिमा पाइन्छ ऋण ?


कृषि विकास बैंकले सेयर धितो कर्जाको व्याजदरको प्रिमियम घटाएको छ । बैंकले असार ४ गतेदेखि लागू हुनेगरी साविकको प्रिमियम दरमा ३७.५ प्रतिशतको कटौती गरेको हो ।

बैंकको कर्जा विभाग प्रमुख सुदिप दाहालका अनुसार बैंकले यस अघि मार्जिन लेण्डिङ प्रकृतिको कर्जा प्रपाह गर्दा आधार दरमा ४ प्रतिशत प्रिमियम लिँदै आएको थियो । नयाँ व्यवस्था अनुसार अब बैंकले आधार दरमा २.५ प्रतिशत मात्र प्रिमियम लिने निर्णय गरेको दाहालले नोटबजारलाई जानकारी दिए ।

बैंकले २०७९ चैत ३ गते यस्तो प्रकृतिको कर्जामा ४ प्रतिशत प्रिमियम लाग्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई संशोधन गरी २०८० असार ४ गतेदेखि आधार दरमा २.५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको हो ।

बैंकको असार महिनाको आधार दर १०.२१ प्रतिशत रहेको छ । जस अनुसार अब मार्जिन लेण्डिङ प्रकृतिको कर्जा १२.७१ प्रतिशतमा उपलब्ध हुनेछ । असार ३ गतेसम्म यस्तो कर्जाको व्याजदर १४.२१ प्रतिशत रहेको थियो ।

बैंकका अनुसार मार्जिन लेण्डिङ प्रकृति बाहेकका अन्य सबै किसिमका कर्जाको प्रिमियम दर यथावत राखिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।