टिसा बैंकलाई पपुवा न्यू गिनीको उत्कृष्ट बैंक बनाउने सुनिल पोखरेलको उद्देश्य


सिभिल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल हाल पपुवा न्यू गिनीको दी टिचर्स सेभीङ्स एन्ड लोन सोसाइटी लिमिटेड (टिसा) बैंकको प्रमुख कार्यकारी अधिकृत भई कार्य सम्पादन गरिरहेका छन् ।

बैंक सञ्चालनका लागि लाइसेन्स लिने प्रक्रियामा रहेको टिसालाई पोखरेलले आफ्नो नेतृत्वमा पपुवा न्यू गिनीको उत्कृष्ट बैंक बनाउने उद्देश्य राखेको बताएका छन् । हाल टिसा सामुदायिक वित्तीय संस्थाका रुपमा दर्ता भई सञ्चालनमा रहेको छ ।

टिसाले बैंकको लाइसेन्स पाएसँगै उक्त बैंक पपुवा न्यू गिनीको पहिलो सामुदायिक तबरबाट सञ्चालनमा आएको वाणिज्य बैंकका रुपमा स्थापित हुनेछ । हाल पपुवा न्यू गिनीमा सञ्चालित बैंकहरु अन्य देशका मल्टिनेशनल र अष्ट्रेलियाका बैंकहरु छन् । ६३ हजार सदस्य रहेको टिसा सामुदायिक वित्तीय संस्थान बैंकमा परिणत भएसँगै टिसा बैंक विश्वव्यापी रुपमा प्रचलित बैंकिङ प्रणाली अवलम्बन गर्ने पपुवा न्यू गिनीको पहिलो वाणिज्य बैंक हुने पोखरेलले बताए ।

टिसा बैंकमा परिणत भएसँगै त्यसले स्थानीय मानिसहरुको योगदान, वित्तीय पहुँच बढाउनमा मानिसहरुको सक्रिय सहभागिता र बृहत्तर बैंकिङ प्रणालीको विस्तारमा सहजता ल्याउने पोखरेलको योजना रहेको छ । टिसा मार्फत साना तथा मझौला उद्योगहरुको सुदृढीकरणका लागि वित्तीय सहायताका साथै आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने र पपुवा न्यू गिनीका जनताको उज्ज्वल तथा समृद्ध भविष्य निर्माणका लागि योगदान पुग्नेछ ।

हाल पपुवा न्यू गिनीको टिसा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका पोखरेल सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पपुवा न्यू गिनी पुगेका हुन् । रिटेल बैंकिङ क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका पोखरेल टिसामा ३ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

सिभिल पछि सुनिल पोखरेल पपुवा न्यू गिनीको टिसा वाणिज्य बैंकको नेतृत्वमा

दी टिचर्स सेभीङ्स एन्ड लोन सोसाइटी अर्थात् टिसा पपुवा न्यू गिनीको सबैभन्दा ठूलो बचत तथा ऋण प्रवाह गर्ने वित्तीय संस्था हो । यो संस्था प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो ऋण युनियन समेत रहेको छ । हाल उक्त संस्थाका १७ शाखाहरु पपुवा न्यू गिनीका विभिन्न ठाउँहरुमा सञ्चालित छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।