सरकारले २९ अर्बको ट्रेजरी नवीकरण गर्दै, ५ अर्ब नयाँ ऋण पनि थप गरिँदै

0
Shares

सरकारले सोमबार २९ अर्ब १६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्ने भएको छ । सरकारले आन्तरिक ऋण भुक्तानी गर्न नसक्ने भएपछि नवीकरण गर्न लागेको हो ।

सोमबार सरकारले ५ अर्ब बराबरको नयाँ ट्रेजरी समेत जारी गरेको छ । सरकारलाई थप ऋण आवश्यक परेपछि नयाँ पनि निष्कासन गर्न लागिएको हो ।

सरकारले राजश्व संकलनभन्दा खर्च धेरै भएपछि आन्तरिक ऋण नवीकरण तथा निष्कासन गरेको हो । ट्रेजरी बिल्सका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने तथा मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्र लगायत औजार मार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सरकारी वित्तीय सन्तुलनमा दबाब परेसँगै सरकारले दोहोरो अंक डिस्काउन्टरेसम्म पनि आन्तरिक ऋण उठाएको थियो । तर, पछिल्लो समयमा ट्रेजरीको डिस्काउन्ट रेट घटेर ६ देखि ७ प्रतिशतको हाराहारीमा झरेको छ । वित्तीय क्षेत्रका अधिक तरलताको अवस्था भएसँगै सरकारलाई आन्तरिक ऋण उठाउने लागतमा पनि कमी आएको हो ।

सरकारले सोमबार २८ दिने ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी निष्कासन गरेको छ । त्यसैगरी ९१ दिने ७ अर्ब ७५ करोड, १८२ दिने ५ अर्ब (नयाँ) र ३६४ दिने ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी निष्कासन गर्न लागेको हो ।

सकारले असार १२ गते निष्कासन गरेको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट २८ दिनेको ५.६२२८ प्रतिशत कायम भएको थियो । त्यसैगरी ९१ दिनेको ६.८०३० प्रतिशत औसत डिस्काउन्ट रेट कायम भएकोमा १८२ दिनेको ६.८९७१ प्रीतशत कायम भएको थियो । त्यसैगरी असार १२ गतेको ३६४ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ७.१९२२ प्रतिशत कायम भएको थियो ।

पछिल्ला दिनहरुमा बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण सोमबार निष्कासन हुने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट मा कमी आउने देखिन्छ । यसले सरकारी ऋणको लागत झनै घट्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।