नेपाल टेलिकमको ‘एफटीटीएच’ सेवा २५ जिल्लामा विस्तार

0
Shares

नेपाल टेलिकमको एफटीटीएच सेवा नेपालभर २५ जिल्लामा पुगेको टेलिकमले जनाएको छ । तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध रहेको टेलिकमले जानकारी दिएको छ ।

काठमाडौंमा उपत्यकाबाट सुरु भएको यो सेवा ललितपुर, भक्तपुर, कास्की, काभ्रे, दाङ, बाँक, चितवन, मकवानपुर, मोरङ, धनुषा, झापा, कैलाली, कन्चनपुर, पाल्पा, सिन्धुपाल्चोक लगायतका जिल्लाका विभिन्न स्थानमा सेवा पुगेको टेलिकमले जनाएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी हुने टेलिकमको भनाई छ ।

यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीब्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्राण्डिङ गरेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिईन ।