बैंकहरुले ब्याजदर बढाएपछि ट्रेजरीको डिस्काउन्ट रेट पनि बढ्यो

0
Shares

वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढेको छ । बैंकहरुले एकल अंकको निक्षेपको ब्याजदरलाई दोहोरो अंकमा बनाएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढेको हो ।

विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले भद्र सहमतिलाई निरन्तरता दिदै ब्याजदरलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् । तर, वाणिज्य बैंकहरुले भने तरलता बढेको भन्दै ब्याजदरको भद्र सहमतिलाई खुला छाड्ने निर्णय गरे । वाणिज्य बैंकहरुले ब्याजदर खुला छोड्ने निर्णय गरेपछि चालु आर्थिक वर्षको साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएर दोहोरो अंक अर्थात करिब १२ प्रतिशतसम्म पुर्याएका छन । त्यसको असर सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा देखिएको हो ।

सरकारले आन्तरिक ऋण भुक्तान गर्न नसक्ने भएपछि सोमबार नविकरण गरेको १७ अर्ब ७० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढेको हो । सोमबार केन्द्रीय बैंकले २८ दिने र ९१ दिने गरी २ प्रकारका ट्रेजरी बिल्सको नविकरणको बोल गरेको थियो । सोमबार दुबै प्रकारका ट्रेजरीको डिस्काउन्ट रेट बढेको छ ।

सोमबार निष्कासन भएको १० अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले अधिकतम ५.२४०५ र न्यूनतम २.९७०८ प्रतिशत आफर गरेका गरेका छन् । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.१६२९ प्रतिशत कायम भएको छ । यसभन्दा अघि असार २५ गते निष्कासन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट ३.०२३० प्रतिशत कायम भएको थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले अधिकतम ५.४७०२ र न्यूनतक ४.५००१ प्रतिशत अफर गरेका छन् । सोमबारको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ५.१८५६ प्रतिशत कायम भएको छ । यसभन्दा अघि असार २६ गतेको ९१ दिने ट्रेजरी बिल्सको ओसत डिस्काउन्ट रेट ५.२५८२ प्रतिशत कायम भएको थियो ।

हाल बैंक वित्तीय संस्थामा ४ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । केन्द्रीय बैंकका अनुसार असार ३० गतेसम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ४० अर्ब पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ०.४७ प्रतिशतमा आएको छ भने कर्जा निक्षेप अनुपात ८१.६२ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकका अनुसार अधिकतम कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म हुन सक्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।