सानिमा बैंकको सबैजसो सूचकमा सुधार, लाभांश क्षमता उच्चदरले बढायो

0
Shares

सानिमा बैंकले गत आर्थिक वर्षमा सबैजसो सूचकमा सुधार गरेको सन्तुलित वित्तीय विवरण प्रकाशित गरेको छ । साढे २ अर्ब बढी नाफा कमाएको बैंकको वितरण योग्य नाफा नै झण्डै सवा २ अर्ब रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५।.३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ। अघिल्लो आवको तुलनामा बैंकको वितरण योग्य मुनाफमा ७७ प्रतिशतले सुधार आएको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। समिक्षा अवधिमा बैंकको चुक्तापुँजी १० प्रतिशतले बढेर १२ अर्ब ४६ करोड पुगेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशत बढेको छ। बैंकले १ खर्ब ७५ अर्ब निक्षेप उठाएर १ खर्ब ४५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत, कुल सञ्चालन आम्दानी २६.७७ प्रतिशत तथा सञ्चालन मुनाफा २७.९६ प्रतिशतले बढेको छ। यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ। बैंकको खराब कर्जा १.३ प्रतिशत छ । खराब कर्जा बढ्दा बैंकको जोखिम व्यवस्थापन खर्च समेत बढेको छ । बैंकको कस्ट अफ फण्ड र स्प्रेडदर पनि अघिल्लो वर्षको भन्दा धेरै छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।