चिकित्सा शिक्षामा ४१८ सरकारी सिट थप, निजी कलेजको सिट यथावत


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३।८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो । यो संख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो ।

सिट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए ।

विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ ।

आयोगका सदस्य सचिव हरि प्रसाद निरौलाका अनुसार, कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कुल ११० सिट वृद्धि गरिएको छ । जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०।३० सिट थप गरिएको छ ।

‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन । एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्र हो’, सदस्य सचिव निरौलाले बताए । उनका अनुसार, एमबीबीएसबाहेक अन्य विधामा पनि सिट बढाइएको छ ।

बिएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २ सय १० सिट वृद्धि गरिएको छ भने बिएमएसमा ९८ सिट थप गरिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।