कोर बैंकिङ भन्दा ट्रेडिङ र अन्य आम्दानीले बढायो कृषि विकास बैंकको नाफा

0
Shares

गत आर्थिक वर्षमा कृषि विकास बैंकले कोर बैंकिङ भन्दा पनि अन्य क्षेत्रबाट हुने आम्दानीमा उच्च सुधार गरेको छ । बैंकको ब्याज आम्दानी घट्दा पनि ट्रेडिङ र अन्य सञ्चालन आम्दानीमा उच्च सुधार आएपछि खुद नाफाको वृद्धिदर भने कायम रहेको हो ।

गत आर्थिक वर्षको बैंकको नाफा ३९ प्रतिशत बढीले बढेको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोडमा सिमित भएको छ । तर, बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा अन्य सञ्चालन आम्दानी २६ प्रतिशतले बढाएको छ।

गत आवमा बैंकको स्प्रेड घटेपछि ब्याज आम्दानीमा असर गरेको हो । गत आवमा बैंकको ब्याजदर अन्तर ३.९४ प्रतिशत रहेको छ । त्यसैगरी आधार ब्याजदर १०.०६ प्रतिशत रहेको छ । गत आवमा बैंकको कष्ट अफ फण्डपनि ७.५१ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशत धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब २२ करोड ५७ लाख खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

बैंकको नाफा वृद्धिलाई कायम राख्न प्रमूख भुमिका खेलेको ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी आएको सुधार अस्वभाविक नै देखिन्छ । बैंकले गत आर्थिक वर्षमा ट्रेडिङ्ग मार्फत एक अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २३ करोड २४ लाख रुपैयाँ ऋणात्मक थियो । खुद त्यसैगरी बैंकले गत आवमा अन्य सञ्चालन आम्दानीबाट १३ करोड ४३ लाख रुपैयाँ कमाएको छ

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ।

१३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १९.७५ प्रतिशत बढ्दा कर्जा प्रवाह साढे ०.९३ प्रतिशतले घटेकोे छ । यसअवधिमा बैंकले एक खर्ब ९९ करोड ४८ लाख निक्षेप उठाएर एक खर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात नै ८१.८३ प्रतिशत छ ।

खुद नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानी ६ रुपैयाँ २१ पैसाले बढेर २०.६२ रुपैयाँमा पुगेकोे छ ।सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।