बेलायतको मुद्रास्फीति दर नोभेम्बरमा १.५ प्रतिशत कायम


बेलायतको मुद्रास्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

बेलायतको मुद्रा स्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु¥याएको बताइएको छ । यहाँको मुद्रा स्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोवस्तीका सेवा तथा सूर्तीजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ ।

बेलायतको केपीएमजीका प्रमुख अर्थशास्त्री याएल सेल्फिनले बेलायत अझै बैंक अफ इङ्ल्याण्डले दिएको लक्ष्यभन्दा धेरै पछि रहेको र यसलाई सन् २०२० मा सन्तुलनमा ल्याइने उनले बताए ।

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगस्ट–अक्टोबर) मा सन १९७४ पछिकै निम्न विन्दुमा झरेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो । “विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ ।”

रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ ।

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा बिदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ ।