अल्पकालिन ब्यादरहरु बढ्दै, कर्जाको मागमा सुधार हुन सकेन


चालु आर्थिक वर्ष सुरु भए यता अल्पकालिन ब्याजदरहरु निरन्तर बढ्दो क्रममा देखिएका छन् । साउन महिनाको अन्तिमसम्म आइपुग्दा, विकास ऋणपत्रका कटअफ रेट, ट्रेजरीको डिस्काउन्ट रेट तथा अन्तर बैंक दर बढेका हुन ।

अल्पकालिन रेटहरु बढ्नु भनेको आगामी दिनमा बैंकिङ प्रणालीको ब्याजदर पनि माथि जाने संकेत हो । चालु आर्थिक वर्ष सुरु भए पछि बैंकहरुबाट कर्जा बढ्नुको साटो झनै घट्दै गएको अवस्था छ । त्यसका साथै बैंकिङ प्रणालीको निक्षेप समेत घट्ने क्रममा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा साउन महिनामा घटेको निक्षेपलाई हेर्दा ब्याजदर बढ्ने सम्भावना उच्च छ । उता अल्पकालिन रेटहरुमा आएको वृद्धिले आगामी दिनमा बैंकिङ क्षेत्रको ब्याजदर बढने संकेत गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सामान्यत कर्जा विस्तार कमै हुन्छ । तर, कर्जा घट्दो क्रममा रहेको र कर्जाको मागमा सुधार आइनसकेको अवस्थामा ब्याजदर बढ्दो गतिमा जाने संकेतले आगामी दिनमा कर्जाको माग बढ्ने सम्भावना न्यून देखिन्छ । गत असार अन्तिममा बैंक वित्तीय संस्थासँग ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन २७ गतेसम्म्मा घटेर ५६ खर्ब एक अर्ब पुगेको छ । त्यसैगरी यो अवधिमा बैंक वित्तीय संस्थाको कर्जा पनि २७ अर्बले घटेर ४८ खर्ब ५२ अर्बमा झरेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आइतबार कोलकबोल गरेको विकास ऋणपत्रको कट अफ रेट ०.५ प्रतिशत विन्दुले बढेको छ । साउन १९ गते निष्कासन भएको १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रको कट अफ रेट ६.५ प्रतिशत कायम भएको थियो । तर, आइतबार निष्कासन भएको सोही रकम बराबरको विकास ऋणपत्रको कट अफ रेट ७ प्रतिशत पुगेको छ ।

त्यसैगरी अन्तर बैंक दर पनि साउन महिना लागेपछि निरन्तर बढ्दो क्रममा देखिएको छ । शनिबार मात्रै अन्तर बैंक दर ६.२६२० प्रतिशत पुगेको छ । गत शुक्रबार अन्तर बैंक दर ६.१७४८ प्रतिशत थियो । साउन महिनाको १ गते अन्तर बैंक दर एक प्रतिशत भन्दा तल रहेको अवस्था थियो ।

चालु आर्थिक वर्ष सुरु भएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा समेत निरन्तर वृद्धि देखिएको छ । साउन महिना सुरु हुँदा करिब ५ प्रतिशतको हाराहारीमा रहेको ट्रेजरीको डिस्काउन्ट रेट बढेर १९ गतेसम्म आइपुग्दा ७ प्रतिशतसम्म पुगेको अवस्था छ ।

सोमबार सरकारले पुरानो ट्रेजरी बिल्स पनि नविकरण गरेको छ । सरकारले नबिकरण गरेको ९१ र १८२ दिने दुबै प्रकारको ट्रेजरीको डिस्काउन्ट रेट बढेको हो । सोमबार नबीकरण भएको ८ अर्ब रुपैयाँ बरावरको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.४४४२ प्रतिशत कायम भएको छ । यसभन्दा अघि साउन २३ गते निष्कासन भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ६.१६८९ प्रतिशत रहेको थियो ।

त्यसैगरी सोमबार नै नबीकरण भएको ६ अर्ब रुपैयाँ बरावरको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ६.४८७६ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि साउन २३ गते निष्कासन भएको सोही अवधिको ट्रेजरी बिल्सको औसत डिस्काउनट रेट ६.३८६० प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।