ग्लोबल आईएमई क्यापिटलमा विलय भयो बिओके क्यापिटल, सेबोन अध्यक्ष हमाल भन्छन् “बजार बिस्तारमा धेरै काम बाँकी”


ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमका बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जर पछि ग्लोबल आईएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

एकीकृत कारोबारको सुवात गर्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले बजार बिस्तार भईरहेको अवस्थामा मर्चेण्ट बैंकिङ क्षेत्रको दायरा र सेवाका क्षेत्र बिस्तारको काम गर्न बाँकी रहेको बताए । बोर्डले त्यस्ता काममा अपनत्व लिने भन्दै उनले सम्बन्धित क्षेत्रबाट सल्लाह र सुझाव दिन पनि आग्रह गरेका थिए । प्रविधिको विकास अपेक्षित हुन नसकिरहेको बताएका उनले अब नियामक मात्र नभई सबैले प्रविधिमा काम गर्नुपर्ने समय आएको बताएका थिए ।

बजारको स्थायित्व र विकासमा मर्चेण्ट बैंकरको भूमिका ठुलो हुने भन्दै उनले संस्थागत सुशासन र प्रभावकारी सेवा प्रवाहमा लाग्न सबै मर्चेण्ट बैंकरहरुलाई आग्रह समेत गरे । ”तपाईहरु एक कदम अघि बढ्नुभयो भने हामी २ कदम अघि बढ्छौं,” बोर्ड अध्यक्ष हमालले भने, “नयाँ विषयमा हामीले काम गर्न खोजिरहेका छौं ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले मर्जर पछि पुँजीका आधारमा दोस्रो ठुलो संस्था बनेको भन्दै पुँजी अनुसार नै सेवाको गुणस्तरीयता, नियामकीय निर्देशनको पालना लगायतमा जोड दिए । यसका साथै मर्चेण्ट बैंकहरुले अहिले गर्दै आएको कामको दायरा बिस्तार गरिपर्नेतर्फ ढकालले धितोपत्र बोर्डका अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा गएसँगै दुवै बैंकका भगिनी संस्था पनि एक आपसमा मर्जरमा गएका हुन् । दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकले मर्जर पश्चात कायम भएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेका थिए ।

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ गते एकीकृत कारोबारका लागि दुवै संस्थालाई स्वीकृति दिएको थियो । गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने कम्पनीले सकार्ने गरी ग्लोबल आईएमई क्यापिटलमा बिओके क्यापिटल गाभ्न अन्तिम स्वीकृति दिएको थियो ।

माउ बैंकहरु ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर भई एकीकृत कारोबार कारोबार भएपछि त्यसका सहायक कम्पनीहरु पनि एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर पश्चात २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । दुई बैंक १ः१ को समान स्वाप रेसियोमा मर्जरमा गएका थिए ।

माउ कम्पनीहरुको मर्जर सम्पन्न भएको ७ महिनापछि सहायक कम्पनीहरुको रुपमा स्थापित मर्चेन्ट बैंकहरु पनि एक भएर संयुक्त कारोबार थालेका हुन् । एकीकृत कारोबार प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट दुबैको गत असार ३ गते विशेष साधारण सभाबाट प्रस्ताव पारित गराएका थिए ।

ग्लोलब आइएमई क्यापिटलले बिओके क्यापिटललाई ५३।१७ कित्ताको अनुपातमा प्राप्ति गरेको हो । अर्थात बिओके क्यापिटलको १०० कित्ता बराबर ग्लोबल आइएमई क्यापिटलको ५३ दशमलव १७ कित्ता सेयरको अनुपातमा मर्जर पुरा भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।