साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन, लक्ष्यको ८२.३३% मात्रै सङ्कलन


चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख रुपैयाँ बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा १६ अर्ब ९ करोड १३ लाख ५६ हजार रुपैयाँ बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार रुपैयाँ बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार रुपैयाँ बरार भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार रुपैयाँ बराबर मात्रै उठेको देखिएको हो ।

त्यस्तै, अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबर उठाउने लक्ष्य राखिएकोमा सात अर्ब ७० करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ । पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् २२ करोड २० लाख छ हजार रुपैयाँ र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबर उठेको छ ।

शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ । साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख एक हजार रुपैयाँ बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार रुपैयाँ बराबर उठेको छ । जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत विन्दुले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो । गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० का लागि सरकारले छ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् चार खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ बराबर मात्रै सङ्कलन भएको थियो । चालु आर्थिक वर्षका लागि सरकारले छ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।