साउनमा वैदेशिक व्यापारमा गिरावट, व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक व्यापारको प्राय सूचक नकारात्मक रहेका छन् । भन्सार विभागका अनुसार साउनमा गत आवको तुलनामा आयात तथा निर्यात दुवै घट्दा वैदेशिक व्यापारमा गिरावट छ ।

साउन महिनामा एक खर्ब ४२ अर्ब ७६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको यहि अवधिको तुलनामा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको हो। अघिल्लो साउनमा एक खर्ब ६० अर्ब ९५ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड बराबरको वस्तु आयात हुँदा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा आयात १ खर्ब ३१ अर्ब २८ करोड भन्दा बढीको थियो भने निर्यात १४ अर्ब ८० करोड रुपैयाँको भएको थियो ।

आयात तथा निर्यातमा गिरावट आएपछि वैदेशिक व्यापारका साथै व्यापार घाटामा पनि गिरावट आएको छ । विभागको तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड थियो । गत आवको तुलनामा चालु आवको पहिलो महिनामा व्यापार घाटामा ०.६६ प्रतिशतले गिरावट देखिएको छ ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ ।

यस्तो रह्यो पहिलो महिनाको वैदेशिक व्यापार

आयात: १ खर्ब २९ अर्ब २३ करोड (१.५६ प्रतिशत गिरावट)
निर्यात: १३ अर्ब ५२ करोड (८.६५ प्रतिशत गिरावट)
व्यापार घाटा: १ खर्ब १५ अर्ब ७१ करोड (०.६६ प्रतिशत गिरावट)
कुल वैदेशिक व्यापार: एक खर्ब ४२ अर्ब ७६ करोड (२.२८ प्रतिशत गिरावट)
वैदेशिक व्यापारमा आयातको हिस्सा:९०.५२ (०.७४ प्रतिशतले वृद्धि)
वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४८ (६.५२ प्रतिशत गिरावट)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।