सेयर बजारको वृद्धि अस्थायी बन्दै, बिहीबार साढे ३१ अंक घट्यो

0
Shares

सेयर बजारको वृद्धि अस्थाई देखिएको छ । मंगलबार र बुधबार गरी ४७ अंकले बढेको सेयर बजार सूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ३१.५२ अंकले घटेको हो ।बजार बढेपनि लगानीकर्ताको मनोबल बढ्न नसक्दासूचक पुनः ओरालोतर्फ नै लागेको हो ।

बजारमा मन्दी छाउँदा पछिल्ला हस्ताहरुमा दैनिक कारोबार रकम साढे एक अर्ब रुपैयाँमा नै समेटिँदै आएको छ । बिहीबार नेप्से सूचक १.५४ प्रतिशत अर्थात ३१.५२ अंकले घटेको हो । यससँगै सूचक २०१३ दशमलव ९३ बिन्दुमा झरेको छ । त्यसैगरी, यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.७२ अंक घटेर ३८५ दशमलव ५६ बिन्दुमा झरेको छ । यसअघि मंगलबार १७.६९ अंक र बुधबार २९.४७ अंकले नेप्से बढेको थियो ।

यसदिन २७५ कम्पनीका ४६ लाख ५७ हजार १३७ कित्ता सेयर ४० हजार ८०० वटा संख्यामा खरिद बिक्री भई कारोबार रकम १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन १ अर्ब ५१ करोडको कारोबार भएकोमा ४ करोडले कारोबार रकम बढेको हो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेर राताम्मे बनेको छ । जसमध्ये विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।म्यचुअल फन्ड ०.५६ र बैंकिङ्ग ०.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल ७ करोड ८७ लाख ९५ हजार रुपैयाँ सहित शीर्ष स्थानमा छ । यस्तै घोराही सिमेन्ट्सको ६ करोड ९४ लाख ५८ हजार रुपैयाँ, शिवम् सिमेन्टसको ५ करोड १६ लाख २० हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ५ करोड १५ लाख ८१ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से ओरालो लागेपछि बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर ७०१ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको सेयरमूल्यमा लगातार चार कारोबार दिन सकारात्मक सर्किट लागेको हो । योसँगै कम्पनीको सेयर मूल्य जलविद्युत क्षेत्रमा तेस्रो ठूलो बनेको छ । माउन्टेन इनर्जी लिमिटेड र रुरु जलविद्युत कम्पनीको सेयर कुथेली बुखरीभन्दा धेरै छ ।

यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ५.९९, सिभिल बैंक डिबेञ्चर २०८८ को १.९९, सामुदायिक लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्लोन्स्ड फन्डको इकाइमूल्य समान १.९९ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा मोलुङ्ग हाइड्रोपावर कम्पनीको सर्वाधिक ८.५४ प्रतिशतले घटेर १६२ रुपैयाँ ७० पैसामा झरेको छ । समता लघुवित्तको ८.०९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड—१ को इकाईमूल्य ७.८० प्रतिशत, रावा इनर्जी लिमिटेडको ७.७४ प्रतिशत र सिंगटी हाइड्रोपावरको ७.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बिहीबारको कारोबारपछि समग्र बजार पुँजीकरण पनि बढेर साढे ३० खर्ब १४ अर्ब ९० करोडमा झरेको छ । अघिल्लो दिन बुधबार ३० खर्ब ६२ अर्ब १० करोड रहेकोमा ४७ अर्ब २० करोड रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।