दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

0
Shares

सेयर बजारमा दुई दिनको वृद्धिपछि पुनः ओरालो लागेको छ । आइतबार १० र सोमबार ४४ अंकले बढेको बजार मंगलबार १९ अंकले ओरालो लागेको हो ।

आज नेप्से परिसूचक १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा अडिएको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स २.५० अंक घटेर ३७९.१४ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा समेटिएको छ । यस दिन २७६ स्टकको ३९ लाख १६ हजार १६१ कित्ता सेयर २६ हजार ३०२ वटा संख्यामा खरिद बिक्री भएको छ । अघिल्लो दिन १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा अघिल्लो दिनको तुलनामा ३८ करोडले कारोबार घटेको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये म्युचुअल फन्ड बाहेक १२ वटै घटेको छ । म्युचुअल फन्ड ०.०४ प्रतिशत बढेको छ भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा १ प्रतिशतभन्दा धेरै घटेको छ ।

शुभम पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से घटेपनि कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत बढेर ८१४ रुपैयाँ पुगेको छ । सामलिङ्ग पावर कम्पनीको ७.५८ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ६.७६ प्रतिशत, अरुण काबेली पावर ४.२२ र दोल्ती पावरको ३.९५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै यस दिन थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात ३७ रुपैयाँ ८० पैसाले घटेर ३४० रुपैयाँ २० पैसामा झरेको छ । सुपरमादी हाइड्रोपावरको सेयरमूल्य ७.२२ प्रतिशत, हिमालयन उर्जा विकास ६.९४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ५.८२ प्रतिशत र अपर सोलो हाइड्रोइलेक्ट्रिक कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको छ ।

नेपाल एसबिआई बैंकको सर्वाधिक कारोबार भएको छ । शीर्ष स्थानमा रहेको बैंकको ७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । कारोबारमा आएको कारोबार रकमका आधारमा दोस्रो ठूलो कारोबार भएको शिवम् सिमेन्ट्को ६ करोड ३५ लाख, एभरेष्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी आइएमई लाइफको ३ करोड ३० लाख रुपैयाँ तथा सोल्टी होटलको २ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब ४५ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा समेटिएको छ । सोमबार कुल बजार पुँजीकरण २९ खर्ब ७४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ थियो । मंगलबार २९ अर्बले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।