औषधी उत्पादक ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने

0
Shares

औषधी उत्पादक कम्पनी ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो पटक सेयर जारी गरेर धितोपत्र बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न यहि असोज २९ गते आह्वान गरेको साधारण सभाबाट सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो ।

सभाले जारी पुँजीको २५ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न नियामक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने र सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विषय पनि सभाले टुङ्ग्याउनेछ ।

आईपीओ सहितका अन्य प्रस्तावहरु पारित गर्न असोज २९ गते अल्फा हाउस रेष्ट्रो बार एण्ड ब्याङक्वेट अल्फाबेटा कम्प्लेक्स नयाँ बानेश्वरमा बिहान साढे ११ बजे सभा आह्वान गरिएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाउने गर्ने निर्णय गरेको हो ।
आईपीओ जारी गर्न कम्पनीले गत आवको साउनमा नै फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा चयन गरिसकेको छ । सम्झौता अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर प्रभु क्यापिटलले निष्काशन गर्नेछ । कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँमध्ये ३० करोड रुपैयाँ संस्थापकहरुबाट चुक्ता भईसकेको छ । १० करोड रुपैयाँको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको भरतपुर २९, चितवनमा औषधी उत्पादन गर्ने उद्योग रहेको छ । कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस स्टाण्डर्ड अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया सुरु गरेको थियो । गैरआवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयु फर्मा टेक्निकल सपोर्ट छ । हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको कम्पनीले जनाएको छ ।

साधारण सभाबाट सेयर जारी प्रस्ताव पारित गरेपछि क्यापिटलले थप प्रकृया पूरा गरी आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड समक्ष सेयर निष्काशनका लागि अनुमति माग्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीको सेयर बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।