ओरियन्टल होटल्सको लाभांश प्रस्ताव, साधारण सभा पनि आह्वान

0
Shares

ओरियन्टल होटल्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पुँजीको कर सहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको असोज १ गते सोमबार साँझ ५ बजे सम्पन्न तेस्रो बैकठले लाभांश प्रस्ताव सहित साधारण सभा समेत आह्वान गरेको हो । होटलले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई कुल ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा वितरण गर्नेछ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २५ गते बिहीबार साधारण सभा समेत डाकेको छ । होटलले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे २६ औँ वार्षिक साधारण सभा आह्वान गरिएको छ । साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विविध प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गते शुक्रबारदेखि साधारण सभाको मिति अर्थात असोज २५ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज अनुसार असोज ११ गते बिहीबाारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कोभिड–१९ महामारीपछि होटलले पछिल्ला तीन आर्थिक वर्षसम्म लाभांश वितरण गरेको थिएन । होटल घाटामा जाँदा कम्पनीले लाभांश वितरण गर्न नसकेको हो । आव २०७५–७६ मा होटलले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।