सन नेपाल लाइफको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि दोस्रो बजारमा कारोबार

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २ गते मंगलबार कम्पनीको साधारण सेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनी र नेप्सेबीच असोज २ गते मंगलबार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । मंगलबार कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको ३ करोड २० लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै असोज ४ गते बिहीबारदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेमा सेयर सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट सम्बन्धीत कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने व्यवस्था छ । बुधबार संविधान दिवसको सार्वजनिक विदा रहेकाले बिहीबार मात्र कम्पनीको सेयर कारोबार हुनेछ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेप्सेले धितोपत्रको दोस्रो बजारमा सेयर कारोबारका लागि नेप्सेले स्टक सिम्बोल एसएनएलआई (SNLI) दिएको छ ।

कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारण समक्ष कुल ९६ लाख कित्ता सेयर जारी गरेको थियो । जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार, कम्पनीका कर्मचारीका लागि ४ लाख ८० हजार र सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार र बाँकी रहेको ७६ लाख ८० हजार कित्ता आम सर्वसाधारणले खरिद गर्न पाउनेगरी बिक्री खुला गरिएको थियो ।

जारी पुँजी ३ करोड २० लाख रहेको कम्पनीमा ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ (९६ लाख कित्ता) सर्वसाधारण र २ अर्ब २४ करोड रुपैयाँ (२ करोड २४ लाख कित्ता) मा संस्थापक सेयरधनीहरुले लगानी गरेका छन् ।

काठमाडौं जिल्ला, पुतलीसडकमा प्रधान कार्यालय रहेको कम्पनीको धितोपत्र सूचीकरण पश्चात् दिनुपर्ने सेयर रजिष्ट्रिेशन सम्बन्धी (आरटिएस) सेवा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुनेछ ।

कतिमा खुल्छ दोस्रो बजारमा कारोबार ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पेसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७८–७९ को वास्तविक प्रति सेयर नेटवर्थका आधारमा उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

यसआधारमा कम्पनीले नेटवर्थ बराबरको न्यूनतम र नेटवर्थको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज पाउने भएकाले रेञ्जभित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबारपछि त्यस दिन मूल्य अधिकतम १० प्रतिशतसम्म बढ्न सक्नेछ । इन्स्योरेन्सको सेयर अधिकतम ४७५ रुपैयाँसम्म सुरु हुन सक्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।