विनोदराज ज्ञवालीको नेपाल रिपब्लिक मिडियाले लाभांश नदिने

0
Shares

सञ्चार माध्यमबाट सर्वसाधारणमा पहिलो आईपीओ जारी गरेको विनोदराज ज्ञवालीको नेपाल रिपब्लिक मिडिया लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ।

गत जेठ अन्तिम साता आईपीओ जारी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट बिना लाभांश साधारण सभा बोलाएको हो । सञ्चालक समितिको मिति २०८० असोज ११ गते बसेको बैठकले कम्पनीको कार्तिक ३ गते शुक्रबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । जडिबुटीस्थित ईन्द्रेणी ब्याङक्वेटमा बिहान १०ः३० बजे सभा डाकिएको छ ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।  सभामा बोनस, नगद लाभांश तथा हकप्रद सेयर निष्कासन जस्ता कुनैपनि विशेष प्रस्ताव छैनन् । सभाले कम्पनीको नियमावली बमोजिम सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने छ । हाल कम्पनीमा संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना र १ जना स्वतन्त्र सञ्चालक गरी ४ जना मात्रै सञ्चालक समितिमा रहेका छन् । सञ्चालक समितिको अध्यक्षमा विनोदराज ज्ञवाली र उनकै श्रीमती शोभा ज्ञवाली, अन्जन कुमार दाहाल, रोमनाथ घिमिरे स्वतन्त्र सञ्चालक छन् ।

साथै सभाले आव २०७९–०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु पारित गर्ने र कम्पनी ऐन अनुसार आव २०८०–८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै कम्पनीले असोज २१ गते आइतबार सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । यसअनुसार असोज १८ गतेबिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

अघिल्लो आवमा ४ करोड ८२ लाख नोक्सानी ब्यहोरेको कम्पनीले गत आवमा कम्पनीले १३ लाख २४ हजार रुपेयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा २६ करोड १ लाख कारोबार गरेको कम्पनीको नाफा ज्यादै न्यून देखिएको छ । गत आवमा प्रतिसेयर आम्दानी १४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा छ । कम्पनीको सञ्चित कोष ५० करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेकाले कम्पनीले लाभांश वितरण गर्न नसकेको हो ।

कम्पनीले राष्ट्रिय स्तरमा कायम रहेको केन्द्रीकृत पत्रकारितालाई विस्तारै मोफसल सम्म विस्तार गर्ने नीति अनुरुप सबैको चाहना र भावनालाई प्रतिविम्बित गर्दै आम नागरिकहरुको सूचनाको अधिकारलाई यथोचित सम्मान र प्रथमिकता दिँदै फरकधारमा सामाजिक जिम्मेवारीताका साथ पत्रकारिता गर्ने प्रयास गरेको जनाएको छ । जस अन्तर्गत नेपालगञ्ज, बिराटनगर तथा पोखराबाट पूर्वेली तथा पश्चिमेली नामका क्षेत्रीय संस्करणहरुको प्रकाशन सुरु भईसकेको कम्पनीको भनाई छ । यसबाट संस्थाको व्यापार वृद्धि हुने कम्पनीको दाबी छ ।

कम्पनी अन्तर्गत नागरिक दैनिक नेपाली र अंग्रेजीमा रिपब्लिका पत्रिका बाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका छन् । ज्ञवालीको स्वामित्व रहेको मिडियाको सन् २०२२ को जुलाइसम्ममा ५५ वटै जिल्लामा नेपाली र अङ्ग्रेजी भाषामा पत्रपत्रिका उपस्थिति रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।