एनआइसी एशिया बैंकको ३० प्रतिशत लाभांश पारित

0
Shares

एनआइसी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३० प्रतिशत लाभांश पारित भएको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको बैंकको सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ) र बोनसको कर प्रयोजनका लागि र १.५२६३ प्रतिशत नगद लाभांश ( १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुगेको छ ।

साथै, बैंकको २६ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल गरी पारित गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन गर्ने लगायतका विशेष प्रस्तावमा छलफल गरी पारित गरेको छ । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।