निष्क्रिय सम्पत्ति बढ्दै गएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ‘वाचवीथ नेगेटिभ इम्प्लीकेशन’ सूचीमा

0
Shares

रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई ‘ए’ रेटिङ गर्दै ‘वाचवीथ नेगेटिभ इम्प्लीकेशन’को सूचीमा राखेको छ । इक्राले बैंकको निष्क्रिय सम्पत्ति औसत भन्दा बढ्दै गएपछि ‘वाचवीथ नेगेटिभ इम्प्लीकेशन’को सूचीमा राखेको हो ।

यसअघि इक्राले बैंकको वित्तीय अवस्थाको मूल्यांकन गरी बैंकलाई ‘ए’ रेटिङ दिँदै ‘वाचवीथ डेभलपीङ इम्प्लीकेशन’को सूचीमा राखेको थियो । पछिल्लो तथ्यांक अनुसार बैंकको निष्क्रिय सम्पत्ति कुल कर्जाको ४.३५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा बैंकले ३ खर्ब २० अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ ।

नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय सम्पत्ति औसत् २.९८ प्रतिशत हुँदा बैंकको भने १.३७ प्रतिशत बिन्दुले धेरै हो । बैंकको निष्क्रिय सम्पत्ति बढ्दै जाँदा त्यसको असर बैंकको सम्पत्तिको गुणस्तरमा परेको इक्राले जनाएको छ । बैंकको सम्पत्तिको गुणस्तरमा आएको गिरावट र निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकको साख मूल्यांकनमा प्रभाव परेको हो ।

तत्कालिन इन्भेष्टमेन्ट र मेगा बैंक सन् २०२३ को जनवरीमा मर्जर भई नेपाल इन्मेष्टमेन्ट मेगा बैंक भएको हो । मेगा बैंकसँगको मर्जरपछि बैंकको सम्पत्ति र आकार समेत बढेको थियो । मर्जर अघि आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब ८१ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको बैंकले मर्जरपछिको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब २७ करोड ६० लाख पुर्याएको छ ।

यस समयमा विश्वव्यापी रुपमा मुद्रास्फीति दर आकाशिदा अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका थिए । नेपाल राष्ट्र बैंकले पनि अन्तराष्ट्रिय अभ्यास अनुसार ब्याजदर बढायो । केन्द्रीय बैंकले ब्याजदर बढाएपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याज बढाए । यसरी ब्याज बढाउँदा बैंकहरुको खुद ब्याज आम्दानी समेत बढेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपालका ठूला वाणिज्य बैंकहरु मध्यको एक हो । मर्जर सँगै बैंकको सञ्चालक समितिमा रहने व्यक्तिहरुको सङ्ख्या समेत बढेको छ । अहिले बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहेका छन् भने सञ्चालकहरुमा प्रजन्य राजभण्डारी, गोपाल खनाल, मदनकुमार आचार्य, मुक्तिराम पान्डे, कविकुमार टीव्रेवाला र मन्जु बस्नेत रहेका छन् । बैंकमा नेतृत्व गर्ने व्यक्तिको सङ्ख्या बढेसँगै त्यसले बैंकको आर्थिक अवस्था सुदृढ गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

बैंकले ६ अर्ब बराबरको सब–अर्डिनेटेड डिबेन्चरका लागि रेटिङ गराएको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले सो रकम बराबरको डिबेन्चरका लागि समेत ‘ए’ रेटिङ गरी ‘वाचवीथ नेगेटिभ इम्प्लीकेशन’को सूचीमा राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।