नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा बढ्यो, कर्मचारी खर्च उच्च

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा गत आवको तुलनामा ९.३० प्रतिशतले बढेको हो । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख ३१ हजार रहेको छ ।

वित्तीय विवरण अनुसार बैंकले असोजसम्म ८२ करोड ३३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा बैंकले ३९ करोड ५६ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा निक्षेप १०८.१३ प्रतिशत तथा कर्जा लगानी ६.३१ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्म बैंकले ७० करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ६.९९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ६५ करोड ५७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९.२८ प्रतिशतले बढेर ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ५४ करोड ९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषको आकार २ अर्ब ११ करोड २० लाखबाट २२.९४ प्रतिशतले बढेर २ अर्ब ५९ करोड ६६ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

नाफासँगै निफ्राको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा ७ रुपैयाँ १ पैसा रहेको बैंकको ईपीएस ७ रुपैयाँ ६६ पैसा पुगेको हो । खराब कर्जा अनुपात नरहेको बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २ पैसा, कष्ट अफ फन्ड ७.६५ प्रतिशत, आधारदर र मूल्य आम्दानी अनुपात २४.३६ गुणा छ ।

असोज मसान्तसम्म बैंकले कर्मचारी खर्च वापत ८ करोड ९६ लाख २५ हजार र अन्य सञ्चालन खर्च वापत १ करोड ५७ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । गत आवको तुलनामा कर्मचारी खर्च ७.९८ र अन्य सञ्चालन खर्च ४.४१ प्रतिशतले बढेको हो । कुल सञ्चालन खर्चमा कर्मचारी खर्चको हिस्सा ८५ प्रतिशत हाराहारीमा छ । कुल कर्मचारी सङ्ख्या ३३ रहेको बैंकले पारिश्रमिक, तलब, भत्तामा उच्च खर्च गरेको देखिन्छ । आव २०७८–७९ को विवरण अनुसार बैंकको प्रति कर्मचारी खर्च वार्षिक ७२ लाख ६८ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महीनामा भएको कर्मचारी खर्च ८ करोड ९६ लाख रहेकाले यस अवधिमा मात्र प्रतिकर्मचारी खर्च २७ लाख १५ हजार ९०० रुपैयाँभन्दा धेरै भएको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।