रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो, असोजमा मात्रै एक खर्ब ३७ अर्ब भित्रियो


चालु आर्थिक वर्षको असोजसम्ममा ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको असोजसम्ममा कुल २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । साे अवधिको रेमिट्यान्स वृद्धि १६ प्रतिशत मात्र थियो । 

चालु आवको असोज महिनामा मात्रै एक खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको हो । चालु आवको भदौ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । बडादशैँको कारण पनि असोज महिनामा रेमिट्यान्स बढेको हो । 

असोज महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । 

चालु आवको असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ । गत आवको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार ९ सय ३२ र ५७ हजार ८ सय ६१ रहेको थियो । 

चालु आवको असोजसम्ममा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४०४ अर्ब ४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।