केपी ओलीको लगानी रहेको त्रिशुली जलविद्युतको सेयर सूचीकृत, बुधबारदेखि कारोबार खुल्दै

0
Shares

तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत लगानी रहेको त्रिशुली जलविद्युत आयोजनाको सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल १ करोड ८५ लाख २५ हजार कित्ता सेयर मंगलबार सूचीकृत भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीले लगानी गरेको १ करोड ४८ लाख २० हजार कित्ता (८०%) प्रतिशत र सर्वसाधारणमा ३७ लाख ५ हजार कित्ता (कर्मचारी समेत) (२०%) गरी कुल १ करोड ८५ लाख २५ हजार कित्ता सेयर धितोपत्र विनियमावली २०७५ अनुसार सूचीकृत भएको हो ।

मंगलबार सेयर सूचीकृचरण भएसँगै कम्पनीको सेयर बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सुरु हुनेछ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम ८९ रुपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैयाँ १४ पैसासम्म कारोबार खुल्नेछ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा नेप्सेले तीन गुणासम्मको कारोबार रेञ्ज तोकेको हो । कम्पनीको धितोपत्र टिभिसिएल कारोबारमा खरिद बिक्रीमा आउनेछ ।

जनताको जलविद्युत आयोजनाको रुपमा आईपीओ निष्कासन गरेको उक्त कम्पनीको सेयरमा केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले १० हजार कित्ता माग गरेकोमा २० कित्ता सेयर प्राप्त गरेका थिए । तत्कालिन उर्जामन्त्री बर्षमान पुन, उनकी पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए । मन्त्रालयका सचिवले पनि २० कित्ता नै सेयर पाएका थिए ।

कम्पनीको सेयर टिभिसीएल कारोबार संकेतमा लगानीकर्ताको मेरो सेयर खातामा जम्मा भैसकेको छ । सुरुमा १० रुपैयाँ संकलन गरेको उक्त कम्पनीको आईपीओको लागि अंकित मूल्यको बाँकी रहेको ९० प्रतिशत रकम माग गरेको समयमा पूर्ण रुपमा आवेदन नपर्दा सेयर सूचीकरणमा ढिलाई भएको हो । कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने ३७ लाख ५ हजार कित्ताका लागि (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीले बाँकी ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि २०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै (१ लाख ५४ हजार ५५९ जना) लगानीकर्ताले २०७९ कार्तिकसम्म बाँकी ९० रुपैयाँको लागि आवेदन नदिएपछि सेयर सूचीकरणमा ढिलाई भएको हो । १० रुपैयाँमा सेयर भरेका सेयरधनीहरुले ७ करोड बराबरको सेयर खरिदका लागि आवेदन दिएनन् ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ। कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आईएमई लिमिटेड नक्सालबाट काठमाण्डांबाट हुनेछ। कम्पनीको प्रधान कार्यालय वनस्थली काठमाण्डौंमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।