विद्युत आपुर्ति बन्द हुँदा ४० मिनेट ढिला खुल्यो सेयर बजार


नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनलाइन कारोबार प्रणालीमा समस्या आएको छ । सिंहदरबार प्लाजास्थित नेप्सेको कार्यालयमा विद्युत आपूर्ति बन्द भएसँगै लोकल सर्भर बन्द भएको हो ।

नेप्सेका अनुसार यसअघि ३ विभिन्न विकल्पबाट प्रणालीमा नियमित रुपमा विद्युत आपूर्ति हुँदै आएको थियो । कार्यालय परिसरमा भइरहेको निर्माण कार्यमा संलग्न कामदारहरुले नेप्सेलाई जानकारी नगराई विद्युत आपूर्ति कटौती गर्दा सबै प्रणाली बन्द भएको हो ।

नेप्सेको लोकल सर्भरमा कुनै न कुनै कम्प्युटर नियमित रुपमा सुचारु हुने गरेको थियो । जसले दैनिक तथ्यांकको व्यवस्थापन तथा बजारलाई चलाउँदै आएको थियो । बिना जानकारी कामदारले विद्युत कटौती गर्दा सबै प्रणाली बन्द भएपछि सेयर दलाल व्यवसायीतर्फको कारोबार व्यवस्थापन प्रणालीसँग नेप्सेको अनलाइन कारोबार प्रणाली नट्सको सम्पर्क टुटेको हो ।

नट्स र टीएमएसको सम्पर्क टुटेसँगै दलाल व्यवसायीहरुले डीएनए लगइन गर्न सकेका छैनन् । लगानीकर्ताले टीएमएस लगइन गर्न पाए पनि डिएनए लगइन नभएका कारण कुनै कारोबार हुन सकेको छैन ।

नेप्सेको कार्यालय खुल्नु पहिले नै विद्युत आपूर्ति कटौति हुँदा बिहानको प्रि ओपन सेसन पनि चल्न सकेन । अहिले विद्युत आपूर्तिको तयारी भईसकेको नेप्सेले जनाएको छ । यद्यपी कहिल्यै बन्द नभएको लोकल सर्भर तथा तथ्यांक प्रणालीमा विद्युत आपुर्ति रोकिँदा तथ्यांक प्रणालीमा परेको असरबारे कुनै जानकारी नभएको नेप्सेले जनाएको छ ।

सबै तथ्यांकहरु व्यवस्थापन गरेर झण्डै ४० मिनेट पछि बजार सुचारु गराइएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।