पाम आयालको निर्यात दश गुणाले घट्यो, भारत बाहेकको विकल्प नखोज्दा समस्या


भारतले पाम आयलको कच्च पदार्थ उत्पादन गर्ने मुलुकहरुसंग प्रत्यक्ष सम्बन्ध राख्दा नेपालको निर्यात दश गुणाले घटेको छ । भारतले भन्सार छुट हटाई उत्पादक देशबाट सोझै आयात गर्ने गरेपछि नेपालबाट निर्यात हुने पाम आयल १७ अर्बले घटेको हो ।

विगतका केही वर्षमा निरन्तर शिर्ष स्थानमा रहेको पाम आयालको निर्यातमा पछिल्लो समयमा घटेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ९१ लाख २८ हजार रुपैयाँ बराबरको पाम आयाल निर्यात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा १० गुणाले कम हो । गत आवको चार महिनामा १९ अर्ब २ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको पाम निर्यात भएको थियो । भारतले पाम आयाल आयातमा प्रतिबन्ध लगाएसँगै निर्यात खस्किदै गएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

“विगतका वर्षहरुमा भारतले ९० प्रतिशतसम्म भन्सार महसूल छुट दिने गरेको थियो । उक्त छुट हटाएसँगै पाम आयालको निर्यात खस्किदै गएको हो,” उनले भने,“ कर घटाउने नीतिका कारण नेपाल अप्ठ्यारोमा परेको हो ।” भारतीय व्यापारीले नेपालबाट नभई उत्पादक देशबाट सोझै आयात गर्ने गरेको महानिर्देशक पौडेलको भनाई छ ।

पाम आयाल नेपालबाट निर्यात हुने भएपनि कच्चा पदार्थ भने आयात मै आधारीत छ । नेपालले इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड लगायत तेस्रो मुलुकबाट कच्चा पाम ल्याएर त्यसलाई पुनः भारत निर्यात गर्ने गरेको छ । विगतका वर्षहरुमा इण्डोनेसिया, मलेसिया, थाइल्याण्डले भारतलाई पाम आयाल निर्यात प्रतिवन्ध लगाएकाले नेपालबाट निर्यायत हुने गरेको भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए । “पाम आयल उत्पादक देशहरुले भारतलाई लगाएको उक्त प्रतिबन्ध फुकुवा गरेसंगै नेपालबाट हुने निर्यात घटेको उनको भनाइ छ ।

नेपालले पामको कच्चा पदार्थ ल्याउने देशसँग भारतको व्यापार सम्बन्धमा सुधार हुनु नेपालका लागि समस्याको विषय बनेको बताउदै खड्काले भने,“नेपालले भारत निर्यात बाहेक कुनै विकल्प नखोज्नु नै गल्ती भएको हो ।” चालु आर्थिक वर्षको चार महिनाको अवधिमा रासायनिक रुपमा परिमार्जन नगरीएको वा अपरिष्कृत पाम आयाल ४ करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको २ लाख ४९ हजार ५ सय २२ लिटर तेल निर्यात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा २४८ गुणा कम हो ।

गत आवको पहिलो चार महिनामा ११ अर्ब ५८ करोड ३७ हजार १९ लाख रुपैयाँ बराबरको ६ करोड ७ लाख ११ हवार ७६३ लिटर अपरिष्कृत पाम आयाल निर्यात भएको थियो । चालु आवको चार महिनामा १ अर्ब ८६ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको १३ लाख ९२ हजार १२ लिटर पाम आयात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा झण्डै ४ गुणा कम हो ।

गत आवको सोही अवधिमा ७ अर्ब ४३ करोड ९३ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ७४ हजार ३८५ लिटर पाम निर्यात भएको थियो । चालु आर्थिक वर्षको चार महिनामा १४ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार ७८२ लिटर सोयाबिनको तेल निर्यात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा ३.६९ गुणाले कम हो । गत आवको चार महिनामा ५ अर्ब ३२ करोड २३ लाख २ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको थियो ।

भारतसँगको समग्र निर्यात क्षमता ५ अर्बले घट्यो

नेपालले सबैभन्दा बढी निर्यात गर्ने देश भारत हो । तर गत वर्षको तुलनामा भारतसँगको निर्यातमा पनि गिरावट आएको छ । चालु आवको चार महिनाको अवधिमा नेपालले भारतमा करिब ३३ अर्ब ३२ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात क्षमता ५ अर्बले कम हो । गत आवमा ३८ अर्ब ६० करोड ३ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।